२७ वर्षदेखि पाटीको बास, चियाको व्यापार (फोटो फिचर)

ललितपुरको जावलाखेलस्थित प्रतिक्षालयमा एउटी वृद्धा महिला बिहानै देखि चिया बनाएर बेच्न सुरु गर्छिन् । वर्षौंदेखि त्यही ठाउँमा बसेर चिया बेच्दै आएकी ति महिलाले हजारौं जनालाई आफुले बनाएको चियाको स्वाद चखाएकी छन् । तर, उनी को हुन् र कहिलेदेखि त्यहाँ चिया बेच्दै छिन् भन्ने शायदै कमैलाई थाह होला ।

प्रतिक्षालय छेउमा चिया बेच्दै आएकी हुन् वृद्धा राधादेवी । उनको घर कहाँ हो, बताउन त चाहिनन् तर, उनी २७ वर्षदेखि यसरी नै त्यही ठाउँमा बसेर चियाको व्यवसाय गर्दै आएकी छन् । यही व्यवसाय गरेरै उनको दैनिक दिनचर्या चलिरहेको छ । ७५ वर्षिया राधादेवी ५० वर्षदेखि जावलाखेलको पाटीमा बस्दै आएकी छन् ।

अरु काम गर्न नसक्ने राधा आफ्नो ज्यान पाल्नका लागि चिया व्यवसाय गरेको बताउँछिन् । राधादेवीको चिया व्यवसायले आफुसँगै अपाङ्गता भएकी एउटी छोरीलाई साँझ बिहान खान पुगेको छ ।

१४ वर्षको उमेरमा बिहे गरेकी राधादेवीले १२ वर्ष अगाडि नै लोग्नेको साथ गुमाएकी थिईन् । लोग्नेको मृत्यु पछाडि उनले पहिलेको भन्दा अझ धेरै दुःख भोग्नु परेको छ । छोराछोरी र नातिनातीना भएता पनि आजसम्म कसैले पनि सरसहयोग नगरेको उनको गुनासोे छ ।

वृद्ध राधादेवी बिहानै ४ बजे उठ्छिन् । उठेदेखि चिया व्यापारको सुरसार गर्न थालिहाल्छिन् । आफु उठेदेखि साँझको ७ बजेसम्म चिया बेचेर बस्छिन् । उनले एकदिनमा २५ पोका दुधको चिया बेच्ने बताउँछिन् ।

सुख भन्ने के हो अहिले सम्म थाहा नपाएकी राधादेवी चिया व्यापार गर्न नपाए राति निन्द्रा नै नपर्ने बताउँछिन् । सास छउन्जेल दुखै दुःख हुने भएता पनि दुःख भनेको मानिसको साथी भएको र दुःखदेखि कहिल्यै डराउनु हुन्न भन्ने उनको बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *