घरटहरा नभत्काउँदा कोटेश्वर–कलंकी सडक निर्माणमा अवरोध

ललितपुर, चैत १८ । निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इन्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । उनले भने, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मेवारी लिएकोमा योजनाले समन्वयको काम गरिरहेको छ ।

यो सडक खण्डमा धेरै काम सकिँदासमेत यी घरटहरा भत्काउन बाँकी ठाउँमा लामो समयदेखि काम रोकिरहेको हो । यससँगै पाइप लाइन, विद्युत्का पोल लगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ । उनी भन्छन्, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।”

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई/दुई लेनको सहायक लेन र त्यो बाहिर एक/एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् । सडकको जम्मा लागत रु एक अर्ब नेपाली रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *