खुमबहादुरको निधनले कांग्रेस सभापति देउवा मर्माहत !

काठमाडौं, चैत १८ । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आइतबार एक शोक वक्तव्य प्रकाशित गर्दै देउवाले दुःख व्यक्त गरेका हुन् ।

देउवाले उनको निधनले सिंगो मुलुक र कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

यस्तो छ शोक विज्ञप्ति

शोक विज्ञप्ति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह मन्त्री खुमबहादुर खड्काको आज भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे निधन भयो । उहाँ मिर्गौला, छाती र नसा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपण गर्नु भएका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उहाँलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो । नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहनु भएका स्व. खड्का वि.स.२०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइरालासँगै नेपाल फर्कनु भएको थियो ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व। खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । मेरा पुराना एवं आत्मीय साथीको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ ।

उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *