तारानिधि धनमाया स्मृति प्रतिष्ठानद्धारा साहित्यकार प्रश्रितसहित चारजना पुरस्कृत

धरान, चैत १८ । सुनसरीको ईटहरीमा स्थापित तारानिधि धनमाया स्मृति प्रतिष्ठानले चार जनालाई सम्मान गरेको छ ।

शनिवार प्रतिष्ठानले एक साहित्यिक कार्यक्रम आयोजना गरी साहित्यकार मोदनाथ प्रश्रित सहित अन्य तीन जनालाई नगद सहित सम्मान गरेको हो ।

नेपालका प्रगतिबादी साहित्य सिर्जना र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रश्रितलाई नगद २५ हजार १ सय १ रुपैँया र सम्मान–पत्र सँगै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यसै गरी नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकेटालाई नगद २१ हजार १ सय १ रुपैया र दिब्य रोशी साप्ताहिकका सम्पादक प्रकाशक मनिता चाम्लिङ्ग राईलाई नगद १५ हजार १ सय १ रुपियाँ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै धरानमा लामो समयदेखि अनाथ बालबालिकाहरुको संरक्षण तथा शिक्षा एवम् बसोवासको भरपर्दो सेवा उपलब्ध गराउँदै आएको भन्दै सरस्वती अनाथ बालआश्रम लाई १० हजार १ रुपियाँ नगदले सम्मान गरेको छ । हाल उक्त सरस्वती बाल अनाथ आश्रममा १९ जना बालबालिकाहरु संरक्षित रहेका छन् ।

पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई प्रदेश एकका सभामुख प्रदिपकुमार भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिष्ठानका संयोजक रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु साहित्यकार मोदनाथ प्रश्रित, कृष्णज्वाला देवकोटा, मनिता चाम्लिङ्ग ,सन्देश अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए ।

यता, यस वर्षको सहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राजन कुईकेल पुरस्कृत भएका छन् ।

रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने उक्त पुरस्कार इमेज च्यानलका प्रमुख समाचार संयोजक कुईकेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले क्लबको बीसौं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रदान गरेका हुन् ।
उक्त समारोहमा अरु केही सन्चारकर्मी पनि पुरस्कृत भएका थिए ।

यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुवास ढकाललाई प्रदान गरिएको छ ।

यसैगरी, यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार भने दृष्टि साप्ताहिकका प्रकाशक एवं संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

यस वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।

त्यसैगरी, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा पत्रकार दिलिप थापामगरलाई प्रदान गरिएको छ ।

कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार रेवती सापकोटालाई प्रदान गरिएको छ । यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार विजय राईलाई प्रदान गरिएको छ ।

त्यसैगरी, यस वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार दीपा दाहाललाई प्रदान गरिएको छ । सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

यसैगरी, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार भउचप्रसाद यादवलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *