दुई नम्बर प्रदेशबाट केन्द्रलाई जाने कर रोक्ने उपेन्द्र यादवको चेतावनी

राजविराज, चैत १७ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले २ नम्बर प्रदेशबाट केन्द्र सरकारलाई जाने कर रोकिदिने चेतावनी दिएका छन् ।

मुस्लिम समाज नेपालद्वारा शनिबार राजविराजको रहमतपुरमा आयोजित सम्मान कार्यक्रममा यादवले विकासका लागि केन्द्र सरकारले समुचित बजेट नदिए यो प्रदेशवाट केन्द्रीय सरकारलाई जाने बजेट रोक्ने चेतावनी दिएका हुन् । ‘२ नम्बर प्रदेशको विकासका लागि आवश्यक बजेट दिइएन भने यो प्रदेशबाट जाने कर पनि काठमाडौं जान दिंदैनौं,’ यादवले भने ।

केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेशप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै यादवले यो प्रदेशको विकासका लागि केन्द्र सरकारले उचित वजेट दिन आनाकानी गरिरहेको आरोप लगाए । यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले विशेष प्याकेजको ब्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेश गरिव, बेरोजगारी, अशिक्षा, पिछडापन लगायतका समस्याले ग्रसित रहेको बताउँदै यो प्रदेशलाई सुशासित, समृद्ध र विकसित वनाउनु चुनौती र अवसर दुवै भएको बताए ।

प्रदेशका भूमि व्यवस्थापन तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साहले जनसंख्याका आधारमा सबैको प्रतिनिधित्वको ग्यारेन्टीका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए । कार्यक्रममा मुस्लिम समाज नेपाल सप्तरीले यादव, राउत र साहलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *