प्रदेश प्रमुख उपस्थित कार्यक्रममै भारतीय राष्ट्रिय गान बजाउन खोजेपछि……

राजविराज, चैत १७ । प्रदेश नं २ मा एक सार्वजनिक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउन खोजेपछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले रोक लगाएका छन् ।

सप्तरीको राजविराजमा शनिबार आयोजना गरिएको कायस्थ जातिको जातीय समिति चित्रगुप्त सेवा समितिको स्वर्ण महोत्सवमा आयोजकले भारतीय राष्ट्रिय गान बजाउने कार्यक्रम राखेका थिए ।

कार्यक्रममा नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सूचीमा नेपाली र भारतीय दुवै देशको राष्ट्रिय गानको कार्यक्रम राखिएपछि प्रदेश प्रमुख कायस्थले असन्तुष्टि जनाएको उनी निकट स्रोतले बतायो ।

आयोजक संस्था चित्रगुप्त सेवा समितिका महासचिव सतिषकुमार दत्तले प्रदेश प्रमुखकै आग्रहमा कार्यक्रम सूचीबाट भारतीय राष्ट्रिय गान हटाइएको जानकारी दिए । प्रदेश प्रमुख कायस्थका प्रमुख स्वकीय सचिव मो युसुफले आफूले नै आयोजकलाई भारतीय राष्ट्रिय गान कार्यक्रममा नराख्न आग्रह गरेको बताए ।

उनले संवैधानिक अंगका व्यक्ति मञ्चमा रहँदा भारतीय राष्ट्रिय गान गाउनु उचित नहुने भएकाले प्रदेश प्रमुख उपस्थित रहेको कार्यक्रममा भारतीय राष्ट्रिय गान नराख्न आयोजकलाई आग्रह गरेको बताए । उक्त आग्रह पछि आयोजकले कार्यक्रममा नेपाली राष्ट्रिय गानको कार्यक्रम मात्र राखेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *