सुन्तला, आँप र लिची अत्याधिक फुल्यो, किसानहरु हर्षित

भरतपुर, चैत १७ । इच्छाकामना गाउँपालिकाका सुन्तला किसान हरिबहादुर नेपाल यतिबेला सुन्तलाको बोटमा लागेको फूल हेरेर फुरुङ्ग परेका छन् । तामिन कृषि सहकारीका अध्यक्षसमेत रहेका नेपालको साढे २ बिघामा रहेको सुन्तलाको बोटमा यस वर्ष धान्नै नसक्ने गरी फूल लागेपछि उनी फुरुङ्ग परेका हुन् ।

‘म आफैँ अचम्म परेको छु । विगत ५/७ वर्ष यता सुन्तलाको बोटमा नदेखिएको फूल यस पटक देखिएको छ’ सुन्तला किसान नेपालले भने, ‘मेरो सुन्तला बारीमा झण्डै ७०० सुन्तलाको बोट छन्, नफूलेको अथवा आधा फुलेको बोटको एउटा कुनै हाँगो छैन ।’ सुन्तलाको बोटमा अत्यधिक फूल देखेर सबै किसान उत्साहित र हर्षित भएका उनी बताउँछन् ।

यसपटक हावाहुरी र असिनाले फूल झारेन भने सुन्तलाको उत्पादन अत्यधिक हुने उनको भनाइ छ । कृषि विज्ञका अनुसार यस वर्ष हिउँदमा हावाहुरी नआएको, झरी नपरेको र शीतलहर नचलेको जस्ता विविध कारणले सुन्तलाको बोटमा बढी फूल लागेको हो । सुन्तलाको लागि वर्षैभरि मौसम अनुकूल भइदियो । त्यो कारणले फूल बढी लागेको अनुमान किसानहरुले गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सुन्तलामात्र होइन, आँप, लिची, कागती र अम्बाको बोटमा समेत अत्याधिक फूल लागेको जानकारी दिएको छ । जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले यस वर्ष सुन्तला, आँप, लिची, कागती र अम्बासमेत व्यापक फुलेको बताए । उनले भने, ‘बोटले धान्नै नसक्ने गरी आँप, लिची र सुन्तला फुलेका छन् । झट्ट हेर्दा बोटमा पातभन्दा बढी फूल देखिन्छ ।’ ‘बोटमा बढी फूल फुलेको वर्ष हावाहुरी र असिना आउने पुरानो मान्यता पनि हाम्रो समाजमा छ । तर, किसान यति धेरै फूल फुलेको वर्ष हावाहुरी र असिना नआइदिए हुन्थ्यो भनेर प्रार्थना गरिरहेका छन्’ किसान हरिबहादुर नेपालले भने ।

‘हाम्रो प्रकृतिमा रहेका बिरुवाहरुमा एक वर्ष अत्यधिक फूल लाग्ने र अर्को वर्ष कम फूल लाग्ने हुन्छ । यो वर्ष धेरै फूल लाग्ने वर्ष भएर नै होला बोटले धान्नै नसक्ने गरी फूल लागेको’ बागवानी अधिकृत थापाले भने, ‘हावाहुरी र असिनाले असर नपारे यस वर्ष सुन्तला, आँप र लिची अत्यधिक फल्ने छ र नयाँ रेकर्ड बन्न सक्नेछ ।’

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक नोधनाथ लामिछानेले चितवनको पहाडमा सुन्तला र समथर फाँटमा आँप र लिचीको फूल अत्यधिक लागेको हुनाले किसानहरु हर्षित बनेका बताए । उनले भने, ‘मौसमले साथ दियो, फूलको कोपिला लाग्ने बेला कुनै रोगले सताएन । त्यसकारण पनि बोटमा लटरम्म फूल छ ।’ उनले विगतका वर्षहरुमा नदेखिएको फूलहरु यसपटक बोटमा देखिएको बताए ।

वैशाख जेठमा आउने हावाहुरी र विभिन्न रोगका कारण सुन्तला र आँपलाई पछिसम्म जोगाउन भने किसानलाई चुनौती छ । आँप र सुन्तलाको तुलनामा लिचीमा चुनौती कम हुने कृषि कार्यालयका प्राविधिक लामिछानेले बताए । उनले भने, ‘यस वर्ष चितवनको फलफूलको उत्पादन बढ्ने किसानले गएका वर्षहरुका तुलनामा बढी फाइदा लिन सक्ने अवस्था देखिएको छ ।

कृषि कार्यालयका अनुसार चितवनमा यस वर्ष २३९ हेक्टरमा सुन्तला, २६२ हेक्टरमा आँप, २९५ हेक्टरमा लिची, ३५ हेक्टरमा कागती, २५ हेक्टरमा नासपति खेती गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *