शीर्ष वरियताका मर्रे र जोकोभिक बाहिरिए, फेडेरर सेमिफाइनलमा

काठमाडौं, असार २९ । साविकको विजेता तथा विश्व नम्बर एक बेलायती टेनिस खेलाडी एन्डी मर्रे र दोस्रो वरियताका नोभाक जोकोभिक विम्बल्डन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् । लन्डनमा बुधबार राती भएको क्वाटरफाइनलमा अमेरिकी खेलाडी स्याम क्वेरेसँग पराजित हुदैँ मर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् । लण्डनस्थित सेन्टर कोर्टमा भएको खेलमा क्वेरेले ३० बर्षिय मर्रेलाई ३ – ६, ६ – ४ , ६ – ७ (४ – ७ ), ६ –  १ र ६ – १ को सेटमा पराजित गरे । योसंगै क्वेरे सन् २००९ पछि ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो पुरुष खेलाडी बने ।

अब सेमिफाइनलमा ३० बर्षिय क्वेरेको क्रोयसियाका मैरिन शिलिकको सामना गर्ने छन् । मैरिन शिलिकले क्वाटरफाइनलमा लक्समबर्गका गिल्स मुलरलाई ३ – ६, ७ – ६ (८ – ६ ),७ – ५, ५ – ७ र ६ – १ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको पुरुषतर्फ सात पटकको च्याम्पियन तथा तेस्रो वरियताका स्विस खेलाडी रोजर फेडेरर अन्तिम चारमा पुगेका छन् ।   फेडेररले क्वाटरफाइनलमा क्यानडाका मिलोस राओनिकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

३५ बर्षिय फेडेररले राओनिकलाई ६ – ४, ६ – २ र ७ – ६ (७ – ४ ) को सेटमा पराजित गरे । यो संगै फेडेररले विम्बल्डन टेनिसमा १ सयौ जितको कोशेढुंगा पुरा गरे । अब फेडेररले सेमिफाइनलमा चेक रिपब्लिकका टोमस बर्डिचको सामना गर्ने छन् ।

बर्डिच विश्व नम्बर दुई सर्बियन नोभाक जोकोभिकबाट वाकोभर पाएर सेमिफाइनलमा पुगेका हुन् । घासे मैदानमा खेलिने विम्बल्डन अन्तर्गत क्वाटरफाइनलको दोस्रो सेट चलिरहदा दाहिने कुहिनामा चोट लागेपछि जोकोभिकले खेल त्यागेका थिए । दोस्रो सेटमा जोकोभिक २ – ० ले पछि रहेका थिए । त्यसअघि पहिलो सेटमा बर्डिचले ७ – ६ (७ – २) ले जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *