कांग्रेस बैठकमा पक्ष–विपक्षको बहस, कसले के भने ?

काठमाडौं, चैत १३ । कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।

सोमबारको बैठकमा डा. शेखर कोइराला र डा. डिला संग्रौलाले लिखित रूपमा आफ्ना विचार राखे । अन्य सदस्यहरूले मौखिक धारणा राखे । शुक्रबारदेखि सुरु भएको बैठकमा सबै सदस्यले आफ्ना धारणा राखिसकेपछि सभापति देउवाले जवाफ दिनेछन् ।

 कसले के भने ?

निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ : शेखर कोइराला
निर्वाचनमा पार्टी परिचालन भएन, कम्युनिस्टले जस्तो नारा ल्याउन सकेनौँ, भारतको नाकाबन्दी भन्न सकेनौँ, सरकारमा बस्दा काम गर्न सकेनौँ । अर्कोतिर चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्– एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकर्तालाई के जवाफ दिने ? निर्वाचनमा हारको दोष सभापतिले लिनुपर्छ । मेरो भागमा कति पर्छ म पनि लिन्छु ।

टिकट कति बेचियो छानबिन गरौँ : बलबहादुर केसी
मेरो जिल्ला सोलुखुम्बुमा अहिलेसम्म कांग्रेसलाई भोट नहालेका व्यक्ति प्रदेश सभाका उम्मेदवार बनाइए । यसरी पैसाको चलखेल भएको छ । यसमा केन्द्रीय सदस्य र भाउजू (सभापतिपत्नी आरजुप्रति लक्षित गर्दै)को पनि हात छ भन्ने सुनिएको छ । पैसाको बलमा टिकट दिनु गम्भीर गल्ती हो । क–कसले कहाँबाट पैसा ल्याए ? पैसाका आधारमा कहाँकहाँ टिकट दिइयो ? हिसाबकिताब पाउनुपर्यो‍ । छानविन आयोग गठन गरेर स्थानीय तहदेखि केन्द्रसम्मको टिकटबारे स्पष्ट पार्नुपर्छ ।

शिवजीको गलामा साप बसेजस्तै अहिले सभापतिको गलामा पनि साँपहरू बसेका छन् । गरुडलाई देखेपछि यसरी बसेको साँप कता पुग्छन् कता । सभापतिको वरिपरी भएका सापहरू पनि यस्तै हुन् ।यस्तै कारण तपाई सभापति पनि सिध्निुहुन्छ ।

तपाईं (सभापति) प्राविधिक रूपमा मात्र चुनाव जितेको हो । प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन सक्नुभएन । प्रधानमन्त्रीको सारा शक्ति प्रयोग गर्दा आफ्नै प्रदेशसभा र श्रीमतीलाई पनि चुनाव जिताउन सक्नुभएन । यसकारण तपाईंले व्यक्तिगत रूपमा मात्र निर्वाचन जित्नुभएको हो । अब सबै हारको दोष सभापतिले लिनुपर्छ । विधान विपरीत भएका संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्नुपर्छ । महासमिति बैठक बोलाएर सबै कुराको छिनोफोनो गर्नुपर्छ ।

सभापतिलाई मात्रै दोष दिन पाइँदैन : रमेश लेखक
सामूहिक निर्णय प्रणालीबाट कांग्रेस चल्दै आएको छ । तसर्थ निर्वाचनमा भोगेको हारको जिम्मा र जसअपजस सबैले लिनुपर्छ । हरेक काम नेताहरूबीच सहमतिमा गर्ने अनि परिणाम राम्रो आएन भनेर सभापतिलाई मात्र दोष दिने शैली ठीक होइन । निर्णय प्रक्रियामा सामेल भइसकेपछि दोषी सबै हौं ।

३० वर्षसम्म पनि उम्मेदवार बन्न किन योग्य भइनँ ? : गोविन्द भट्टराई
अवैधानिक रूपमा गठन गरिएका संसदीय र कार्यसम्पादन समिति विघटन हुनुपर्छ । हामीले कुनै मापदण्ड नै नबनाइ टिकट वितरण गर्दा हार्यौं । यसको बढी दोष सभापतिले लिनुपर्छ तर, पार्टी हारको जिम्मा सबैले लिनुपर्छ । पार्टीमा लागेको ३० वर्ष भयो प्रतिनिधिसभाको उम्मेदवार योग्य भइनँ किन सभापति ज्यू ?

टिकट बाँड्ने समितिमा म किन परिनँ ? : आनन्द ढुंगाना
संसदीय समिति अवैधानिक भएको विषय बालुवाटारमा प्रधानमन्त्रीलाई भनेको थिएँ । तर, मेरो कुरा सुनिएन । सुशील कोइराला सभापति हुँदाका संसदीय समितिका सबै सदस्य यसपटक परे तर म किन परिनँ सभापति जी ?

मासवेसमात्र होइन क्याडरवेस बनाउँ : डा.डिला संग्रौला
पार्टीलाई अगाडि लैजान अब गुट र व्यक्तिवादी चिन्तनबाट माथि उठाउनुपर्छ । विकास र समृद्धिको एजेन्डालाई उठाउनुपर्छ । साधारण र क्रियाशील सदस्यताले मात्रै रिजल्ट दिएन अब साधारण, क्रियाशील र प्रतिवद्ध सदस्य बनाउनुपर्छ । कांग्रेसलाई अब ‘मासवेस’ मात्र होइन ‘क्याडरवेस’ पार्टीका रूपमा विकास गर्नुपर्छ । तल्लो तहका निर्णयका आधारमा पार्टी संचालनको शैली अबलम्बन गर्नुपर्छ ।

निर्वाचनमा बामपन्थी गठबन्धन बन्यो तर, हामीले लोकतान्त्रिक गठबन्धन अरूलाई जिताउन बनायौं । हामीलाई सहयोग भएन । अब म, मेरो नभनौं । हाम्रो भनेर जाउँ । पुनर्जागरण, पुनर्ताजगीको कार्यक्रम गाउँगाउँ लिएर जानुपर्छ । हारको जिम्मा पदीय मर्यादा अनुसार सभापतिको बढी भए पनि दोषी सबै छौं । अब महासमिति बैठकले विधान संसोधन गर्दै संघीय संरचना अनुसार पार्टीलाई बदल्ने र पार्टीका हरेक तहमा पदाधिकारीसहित ३३ प्रतिशत महिलाको आरक्षण सुनिश्चित गर्नुपर्छ ।

दलितलाई किन टिकट नदिएको ? : जीवन परियार
युवा नेताहरू आकर्षणका केन्द्र हुन् तर, हाम्रो पार्टीमा धनराज गुरुङ, कल्याण गुरुङ र गुरु घिमिरेले किन टिकट पाएनन् ? दलितहरूलाई किन अवसर नदिने ? दलितहरूले कांग्रेसलाई भोट दिएनन् भनिन्छ तर, देशभरमा प्रत्यक्षमा दलितका तर्फबाट मैंलेमात्र टिकट पाएँ । दलितले भोट दिएनन् भन्ने खस आर्यले चाँहि किन भोट दिएनन् ? यसको कारण खोजी गरौं ।

खुमबहादुरको स्वास्थ्यप्रति चिन्ता व्यक्त
कांग्रेस बैठकले केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेको छ । भारतमा उपचार गराइरहेका खड्काको स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले स्वास्थ्यस्थिति बुझ्न केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउँने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *