कर्मचारी समायोजन विधेयक संसदमा प्रस्तुत्

काठमाडौं, असार २८ । व्यवस्थापिका–संसदको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सदनको आजको बैठकमा विधेयकलाई प्रस्तुत गर्नुभएको थियो ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले कर्मचारी समायोजनका नाममा बढुवा प्रक्रिया रोक्न नहुने र सेवा प्रवाहलाई चुस्त बनाउने कर्मचारीलाई मात्र स्थानीय तहमा समायोजन गर्न सुझाव दिनुभयो ।

त्यस्तै नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले तोकिएको स्थानमा हाजिर हुन नजाने कर्मचारीलाई के गर्ने भन्ने विषयमा विधेयक मौन बसेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले समायोजन र पदस्थापना फरक विषय भएको, प्राकृतिक न्यायको सिद्धान्तविपरीत र लोकसेवा आयोगको सल्लाहबिना विधेयक आएको बताउनुभयो ।

यसैबिच मन्त्री फरमुल्लाह मन्सुरले छलफलमा उठेका विषयमा जवाफ दिँदै संघ, प्रदेश र स्थानीय तहमा संविधान अनुसार नै कर्मचारी समायोजन गर्न लागिएको जानकारी दिनुभयो । समायोजन प्रक्रिया संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो रहेको र अहिले यससम्बन्धी विभिन्न तहमा काम भइराखेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *