जनकपुर बजार क्षेत्रका घरहरुमा चल्यो डोजर

जनकपुर, चैत १० । जनकपुर उपमहानगरपालिकाले सडक बिस्तारका लागि जनकपुरको मुख्य बजार क्षेत्रका घरहरुमा एक्साभेटर प्रयोग गरेर घर भत्काउन सुरु गरेको छ । उपमहानगरले जनक चोकदेखि भानु चोकसम्मको घर भत्काउन सुरु गरेको हो ।

उपमहानगरपालिकामा शुक्रबार बसेको बैठकले शनिबारदेखि सडक क्षेत्रमा परेको घर भत्काउने निर्णय गरेको थियो । पसल र व्यापारिक भवन मात्रै रहेको यो क्षेत्रको सडक विस्तार गर्न उप–महानगरपालिकाले शनिबारदेखि डोजर लगाएको छ ।

मुख्य बजार क्षेत्रमा घर भत्काउन डोजर लगाउँदा सर्वसधारणको ठूलो भीड लागेको छ । प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा घर भत्काएको छ ।

एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा जनकपुरमा निर्माण भइरहेको ढल–नाला र सडक निर्माणमा मुख्य बजार क्षेत्रकै घर र व्यापारिक भवनले अबरोध पुगेको थियो ।

१६ मिटर चौडाइको बनाउन लागिएको नयाँ सडकको दुबै छेउमा १/१ मिटर फुटपाथ निर्माण गरिनेछ । उप–महानगरपालिकाले सडक मापदण्ड मिचेर बनेको घर भत्काउन अभियानै थालिने बताएको छ ।

एडीबीको १ अर्ब ९० करोड मध्ये सडक विस्तार र ढलनाला निर्माणमा ९८ करोड ९८ लाखमा बजार क्षेत्रको १० किलोमिटर सडक फराकिलो र २० किलोमिटर ढल–नाला निर्माण भइरहेको छ ।

सहरी विकास आयोजनाका प्रमुख इञ्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार सडक फराकिलो बनाउन जनकपुर क्षेत्रका करिब दुई हजार घर–टहरा भत्काइने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *