पहिरोको डरले रातभर जाग्राम

बैतडी, २८ असार । वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।

लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य भएकी मञ्जु दमाईले भनिन्, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसँग अन्यत्र जमिन नभएकाले जोखिम मोलेरै बस्न बाध्य छौ । ”
विसं।२०६० असारमा आएको पहिरोले त्यो बेला बाङ्गाबगरका छ घर पूर्णरुपमा नष्ट गर्नाका साथै १५० रोपनी जमिन बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले बाङ्गाबगरवासीलाई चिन्तित बनाएको अर्का स्थानीय महेश सार्कीले बताए ।

पहिरोले सात दलित परिवारका साथै अन्य समुदायका छ घरपरिवारलाई पनि घरबारविहीन बनाएको छ । आफूहरुले बसोवास गर्नका लागि कतै ठाउँ नपाएपछि पहिरोको छेउमै बनाएको टहरामा बास बस्नुपरिरहेको स्थानीयवासी धनीराम सार्कीले गुनासो गरे ।

उनले भने “आफ्नो भएको जग्गा सबै पहिरोले लगेपछि टहराको बास भएको छ” लगातारको वर्षाले रातिको निद्रासमेत हराएको स्थानीय तेजबहादुर साउदले बताए ।

उनले भने– “वर्षाभएसँगै परिवारको एकजनाले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ” मर्सिकोर नेपालको सहयोगमा पहिरो रोकथामका लागि लगाएको पर्खालसमेत भत्किएको छ । पहिरो बस्तीको दुईतर्फ भएकाले दुबै तर्फका बासिन्दालाई सास्ती भएको स्थानीय सुरेश श्रेष्ठले बताए ।

सात सय मिटर लम्बाइको पहाडबाट खसेको बाङगाबगर पहिरोले स्थानीयवासी त्रस्त छन् भन्दै उनले भने“ यहाँका बासिन्दा पहिरोकै जोखिमको बीचमा बस्न बाध्य छन् ”

प्रत्येक वर्ष आउने पहिरोले महाकाली राजमार्ग अन्तर्गत बाङगाबगरमा सडक अवरुद्ध हुने गरेको छ । गुरुयोजना नै निर्माण गरेर काम गरेमात्रै केही हदसम्म पहिरोको नियन्त्रण गर्ने बताइएको छ ।

वर्षा बढेसँगै पहिरोले बेलाबेलामा राजमार्ग अवरुद्ध गर्ने भए पनि तत्काल पहिरो नै रोकथाम हुने सम्भावना नरहेको देखिएको हो । विगतदेखि नै वर्षातको समयमा बग्दै आएको पहिरो यो वर्ष पनि वर्षा शुरु हुने बित्तिकै बगेर सडक नै अवरुद्ध गर्न थालेको छ । माथिबाट पानीसहित बगेर आउने पहिरोको लेदोले सडक अवरुद्ध हुने गरेको हो ।

भित्री कमेरोयुक्त माटो भएकाले बाङगाबगरबाट आउने पहिरो तत्कालै नियन्त्रण गर्न सकिने मर्सिकोर नेपालका जिल्ला संयोजक हेमराज भट्टले बताउनुभयो । पहिरोको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

बाङगाबगर पहिरोको स्थायी समाधान तत्काल असम्भव रहेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

पहिरो पीडितका लागि प्रशासनले सक्दो सहयोग गरिरहेको छ उनले भने–“पहिरो नियन्त्रणका लागि राज्यका ठूला निकायको सहयोग चाहिन्छ” सानोतिनो लगानी तथा कुनै एक निकायले पनि गर्न नसक्ने भएकोले सबै निकायले ध्यान दिए सम्भव हुने उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *