भारतद्धारा बाँके सीमामा बाँधजस्तै सडक बनाउन शुरु

नेपालगन्ज, चैत ९ । बाँकेस्थित सीमाक्षेत्रमा सडक बनाउन भारतले दशगजामा रहेका संरचना भत्काउन शुरु गरेको छ । विभिन्न जिल्लाका सीमामा बाँधजस्तो सडकका कारण नेपालीको बस्ती डुबान भइरहेका समाचार आइरहेका बेला भारतले बाँकेमा पनि त्यस्तै सडक बनाउन थालेको हो ।

दशगजादेखि ५ मिटर दूरी छाडेर सीमा सडक निर्माण गर्न यसअघि सर्भे गरिसकेको छ । लगत्तै संरचना हटाउन सुरु गरेको हो । सीमावर्ती रुपैडिहा बजार र जमुनाहामा दशगजासित जोडेर बनाइएका संरचना भत्काउन थालेको हो । सीमास्थित इलाका प्रहरी जमुनाहा नजिकको सीमान्त इन्टर कलेज सीमा सडकको मारमा परेको छ । दशगजानजिक रहेको भन्दै क्याम्पसका भवन भत्काइएको हो । त्यस्तै रुपैडिहा र जमुनाहाका एक सयभन्दा बढी घर विस्थापित भएका छन् । भारतीय अधिकारीका अनुुसार सीमा सडकबाट पीडितलाई मुआब्जा दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश केसीले बाँकेको पूर्वी क्षेत्रमा सीमा सडक निर्माण गरिएको बारे जानकारी भएको बताए । नेपालगन्जको जमुनाहा क्षेत्रमा भने सडक निर्माणको तयारीबारे सूचना नआएको जनाए । पछिल्लोपल्ट भारतीय पक्षले नेपालगन्जको सीमा छेउमा सडक निर्माणलाई तीव्रता दिएको छ । त्यस्तै जानकी गाउँपालिकाको साईगाउँ सीमा क्षेत्रमा तटबन्धजस्तै सडक निर्माण भइरहेको छ । सीमावर्ती बासिन्दाले त्यसको विरोध गरे पनि विस्तारको काम जारी छ ।

तटबन्धजस्तो सडकले वर्षामा पानी छेकेर डुबान हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । भारतीय पक्षले सडक निर्माण गरिरहेको बारे उनीहरूले स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका छन् । स्थानीय प्रशासनले सडक निर्माणबारे सरकारलाई पटक–पटक जानकारी गराउँदै आएको छ ।

नेपाल सरकार भने सीमा सडकबारे कुनै प्रतिक्रिया नजनाउँदा भारतीय पक्षले सडक विस्तारको क्रम जारी राखेको छ । यसअघि बाँकेको पूर्वी क्षेत्रमा निर्माण गरिएको सीमा सडकलाई भारतीय पक्षले कालोपत्रे गरिसकेको छ । त्यस क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् । भारतीय सीमावर्ती जानकी गाउँपालिका १ का अध्यक्ष मोहम्मद रजा राईले भारतीय पक्षले सीमासँगै जोडेर सडक बनाइरहेको बताए । उनले त्यसबारे भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का अधिकारीसँग पनि कुरा राखेको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *