नौ करोड अनुदान पाएपछि अघि बढ्यो आयोजना

बागलुङ, २८ असार । सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको ताराखोला गाउँपालिका– ५ स्थित निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ ।

तीन सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान हालै स्वीकृत गरेको छ । विसं २०६८ देखि सुरु भएको आयोजना लगानी अभावमा बीचमै रोकिएको थियो ।

कुल रु १८ करोडको लागतमा बन्ने उक्त आयोजनाको लागि शुरुमै गाउँपालिकाका दुई हजार २०० घरधुरीले रु १५ हजारका दरले रु पाँच करोड पाँच लाख शेयर राखेका थिए । अपुग रु तीन करोड ८२ लाख ९७ हजारको लागि पुनः शेयर खुलाइएको आयोजनाका अध्यक्ष तीर्थसिँह थापाले बताए ।

सरकारी अनुदान र थप शेयर जुट्ने भएपछि आयोजनाको कामले गति लिएको छ । अध्यक्ष थापाका अनुसार आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको छ । टर्बाइनलगायत उपकरण खरिदका लागि ऋण खोजेरै प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

ताराखोला गाउँपालिका–५ धस्मरमा विद्युत्गृह निर्माण भइरहेको छ । एक वर्षभित्र सम्पूर्ण काम पूरा गरी विजुली बाल्ने लक्ष्य आयोजनाको छ । उक्त आयोजना बनेपछि ताराखोला गाउँपालिकाका एक हजार सातसय घरधुरी लाभान्वित हुनेछन् ।

निर्माणमा ढिलाई भएपछि आयोजनाको लागत बढेर १८ करोड पुगेको छ । ताराखोला गाउँपालिका– ५ धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गर्न लागिएको हो । हिउँदमा ३८० किलोवाट तथा वर्षायाममा करिब पाँच सय किलोवाटसम्म विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *