बालिका ललाईफकाई भारत लग्न खोज्ने भारतीय पक्राउ

नवलपरासी, चैत ७ । बालिकालाई बेच्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ५ बेल्हानी बस्ने मुन्ना कलवारको ७ वर्षीया छोरी नब्या कलवारलाई ललाईफकाई भारत बेच्न लान लागेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश महराजगंज जिल्ला डोमहा बस्ने ५० वर्षका ध्रुव हरिजनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका हरिजनले बालिकालाई बेच्न लान लागेको बालिकाको बुवा मुन्ना कलवारको आरोप छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख मुकुन्दराज आचार्यका अनुसार हिजो (चैत्र ६ गते) साँझ ४ बजेको समयमा आरोपित हरिजन बेल्हानी बालिकाको घरमा रहेको पसलमा रक्सी खान आएका थिए । हरिजन सधैँ बालिका नब्याको घरमा रहेको पसलमा रक्सी खान आउने गर्दथे ।

हरिजनले मौका छोपी बालिकालाई मिठाई दिई मामा घर लाने भनि फकाई साईकलमा चढाएर लगेका थिए । सँझ बालक घरमा नदेखिएपछि घरपरिवार र गाउँभरि बालकको खोजतलास शुरु भएको थियो । बालिकालाई हरिजनले साईकलमा चढाएर लगेको गाउँका एक स्थानीयले देखेको बताएपछि हरिजनको खोजी शुरु गरिएको थियो ।

हरिजनले साँझ लगेका बालिकालाई सहजै गाउँ लान नसकेपछि उनले नजिकको औराहा भारतीय जंगलमा राती १२ बजेसम्म बालिकालाई बाँधेर राखेको स्थानीय श्याम थापाले बताए । रातीको समयमा हरिजनले बालिकालाई जबरजस्ती आफ्नो गाउँ लान खोजिरहेको बेला बालिकाको खोजतलासमा निस्किएका थापा सहित कमलकान्त पोख्रेल, विगुवा बनियाले उनलाई जंगलमै रहेको गेडहवाँ पुलमा पक्राउ गरि राति नै प्रहरी चौकी रामनगरलाई बुझाएको थापाले बताए । बालिकासँग सोधपुछ गर्दा उनले जबरजस्ती बाँधेर राखेको बताएको थापाले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान गर्न हरिजनलाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखेको प्रहरी प्रमुख आचार्यले बताए । परिवारले बालकलाई बेच्न लगेको आरोपमा जाहेरी दर्ता गरेकाले घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरी प्रमुख आचार्यको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *