सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भनेः ‘अब प्रतिष्पर्धा तपाईंहरुका बिचमा’

काठमाडौं ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातओटै प्रदेशले एक अर्कालाई उछन्ने गरी समृद्धिको यात्रा तय गर्न निर्देशन दिएका छन् । सातै प्रदेशका मुख्यमन्त्रीलाई सिंहदरबारमा राखेर प्रधानमन्त्री ओलीले प्रदेशका बीचमै प्रतिष्पर्धा हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रदेशका बीच प्रतिष्पर्धा हुने गरी काम गर्नुस् । अब असफल हुने छुट छैन । विकास र समृद्धि प्रमुख कार्यभार हो । दिगो विकासको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् ।’ छलफल गर्दै प्रधानमन्त्री ओलीले राम्रा कुरा गर्न प्रतिष्पर्धामा उत्रिन भनेका हुन् ।

‘अब तपाईं आपसमा प्रतिष्पर्धा गर्नुस् फलानो प्रदेशभन्दा मेरो प्रदेश राम्रो छ भनेर,’ मुख्यमन्त्री र प्रमुख सचिवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘विकास नगर्ने र असफल हुने छुट हामीलाई छैन ।’

उनले राजनीतिक क्रान्तिको चरण पुरा भइसकेको र अब विकासको चरण सुरु भएकाले कोही फरक राजनीति दल भएर केही फरक नपर्ने बताए । ‘हामी एउटै विकास गर्ने दल भइसक्यौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका काम अहिले चार किसिमका समस्या रहेको बताए । उनले प्रदेशमा अहिले आफूहरु रित्तो हात बस्नु परेको गुनासो गरे ।

‘पहिलो कुरा कानुन नै छैन, धेरै कानून संघीय संसदले बनाउनु पर्छ, दोस्रो पूर्ववर्ती सरकारले क्षेत्रीय संरचनालाई यथावत् राखेकाले समस्या आएको छ,’ मुख्यमन्त्री राईले भने, ‘तेस्रो कुरा कर्मचारीको अभाव छ र हामीसँग हामीसँग बजेट पनि छैन ।’

‘चुनौती नै चुनौतीका बीचमा जिम्मेवारी सम्हालेका छौं’, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘प्रदेशमा चरम आर्थिक संकट छ । ऐन, कानुन बनेका छैनन् । कर्मचारी समायोजन हुन सकेको छैन ।’

बैठकमा महान्यायाधिवक्ताको सहभागिता थियो । त्यस्तै, सरकारका सबै मन्त्रीहरु, मुख्यसचिवको पनि बैठकमा उपस्थिति थियो । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले बुधबार सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएका थिए ।

मुलुक संघीयतामा गएको अभ्यास गर्दा सातवटै प्रदेशमा एकरुपता ल्याउन र शासन व्यवस्थालाई चुस्त बनाउन प्रधानमन्त्री ओलीले प्रदेशका पदाधिकारीहरुसँग छलफल गर्न लागेको बताएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *