विश्वकप फुटबलका लागि नयाँ जर्सी सार्वजनिक, कुन देशको जर्सी कुन कम्पनीको ?

काठमाडौं, चैत ७ ।  विश्व फुटबलको महाकुम्भ  ‘फिफा विश्वकप फुटबल’ आगामी जेठमा रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोमा जेठ ३१ गते विशेष कार्यक्रमका बीचमा फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ ।

२१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ । यस्तै फिफा विश्वकपको खेल तालिका समेत सार्वजनिक भइसकेको छ ।

रुस विश्वकप सुरु हुन् अब दुई महिना बाँकी छ ।  र, खेलप्रेमीहरुले विश्वकप फुटबलको दिनगन्ति सुरु गरेका छन् । विश्वकपको दिनगन्ती सुरु भएसँगै विश्वकप खेल्ने राष्ट्रहरुको नयाँ जर्सीसमेत सार्वजनिक हुन थालेको छ ।

खेलकुद सामग्री उत्पादन गर्ने कम्पनीहरुले रुस विश्वकपमा प्रयोग हुने जर्सी, बुट तथा अन्य खेल सामग्रीहरु सार्वजनिक गर्न थालेका हुन् । अधिकांश राष्ट्रको जर्सी सार्वजनिक भइसकेको छ भने केही राष्ट्रको बाँकी छ ।

यो संस्करणमा सहभागी हुने राष्ट्रहरुले एडिडास, पुमा र नाईक कम्पनीको जर्सी लगायत खेलकुद सामग्री प्रयोग गर्नेछन् । विश्वकपमा सहभागी हुने राष्ट्रमध्ये सबैभन्दा धेरै राष्ट्रले एडिडासको जर्सी प्रयोग गर्नेछन् ।

यो विश्वकपमा आयोजक रुस, जर्मनी, स्पेन, अर्जेन्टिना, कोलम्बिया, जापान, स्विडेन, मेक्सिको, इरान, इजिप्ट, मोरक्को, बेल्जियमले एडिडास कम्पनीको जर्सी प्रयोग गर्नेछन्  ।

एडिडासले अधिकांश राष्ट्रको होम जर्सी सार्वजनिक गरिसकेको छ । एडिडासले मंगलबार मात्र अर्जेन्टिना, जर्मनी, स्पेन, रुस, बेल्जियम, स्विडेन, मेक्सिको र जापानको अवे जर्सी सार्वजनिक गरेको छ ।

यस्तै योपटक पोर्चुगल, ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया, दक्षिण कोरिया, साउदी अरेबिया, अष्ट्रेलिया, पोल्याण्ड, नाइजेरियाले नाईकले निर्माण गरेको जर्सी लगाउनेछन् । नाईकीले रुस विश्वकपको लागि इंग्ल्यान्ड, फ्रान्स, नाइजेरिया, पोर्चुगलले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिसकेको छ ।

यो विश्वकपको लागि पुमाले स्विजरल्याण्ड, उरुग्वे, सेनेगलको जर्सी बनाउनेछ । पुमाले यी तीनै राष्ट्रले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिसकेको छ ।

कोस्टारिका र पानामाले न्यु ब्यालेन्स कम्पनीको जर्सी प्रयोग गर्दा पेरु र सर्बियाले उम्ब्रो कम्पनिको जर्सी प्रयोग गर्नेछन् । यस्तै आइसल्याण्डले इरा, डेनमार्कले हुम्मेल र ट्युनिसियाले उह्ल्स्पोर्ट कम्पनीको जर्सी प्रयोग गर्नेछन् ।

विश्वकपको उद्घाटन खेलमा जेठ ३१ गते लजनिकी रंगशालामा हुनेछ । उद्घाटन खेलमा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । समूह चरणको अन्य खेलहरु भने असार १ गतेबाट हुनेछ  ।

विश्वकपको अन्तिम १६ अर्थात नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ  । त्यसै क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ  । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ  ।

यो संस्करणको विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन्  । त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाएका छन् ।

रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साबिकको बिजेता जर्मनी लगायतका  ठुला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको विजेता इटाली विश्वकपमा देखिनेछैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकपबाट बाहिरिन पुगेका छन् ।

युरोप बाहिरबाट अमेरिका, चिली, आइभरी कोष्ट, घाना जस्ता राष्ट्रहरुले  अर्को वर्षको विश्वकपमा खेल्ने छैनन् । यस्तै आइसल्याण्ड र पनामा पहिलोपटक विश्वकपमा छनोट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *