सुर्खेतका जनप्रतिनिधिको बालविवाह रोक्ने प्रतिबद्धता

सुर्खेत, चैत ६ ।  सुर्खेतस्थित स्थानीय तहका जनप्रतिनिधिले बालविवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा भिएसो नेपालद्वारा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी’ कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न जिल्लास्तरीय छलफलका सहभागीहरूले सो कुरामा प्रतिबद्धता जनाएका हुन् ।

समाजमा अझै पनि बालविवाह मौलाउँदै गएकाले यसलाई रोक्न ठोस अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड थियो । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बालविवाहले महिलाको समग्र जीवनमा पार्ने प्रभावका बारेमा स्वयं किशोरकिशोरीलाई जानकारी गराएर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिने बताए । उमेर नपुगी आमा बन्दा त्यसले प्रजनन स्वास्थ्यमा समस्या पर्नुका साथै उनीहरूको मानसिक स्वास्थ्यमा पनि असर पार्दा पनि कानूनको कार्यान्वयन गर्न नसकिएको अध्यक्ष बस्नेतले गुनासो गरे ।

लेकबेँसी नगरपालिका–९ का वडाध्यक्ष मानबहादुर खडलु मगरले नगरपालिकाभित्र बालविवाह हुन लागेको कुरा थाहा पाउने बित्तिकै रोक्ने र बालविवाह गरिएको कार्यक्रममा सहभागी भएर भोज पनि नखाने प्रतिबद्धता जनाए ।

यस्तै भेरीगंगा नगरपालिका–१२ का वडाध्यक्ष हरिप्रसाद खरेलले बालविवाह न्यूनीकरणका लागि जनचेतना फैलाउँदा पनि अझै न्यूनीकरण हुन नसकेको गुनासो व्यक्त गरे उनले बालविवाह रोक्नका लागि किशोर किशोरीलाई उचित शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बालविवाहका कारण महिला नै बढी पीडित भएको र बालविवाह रोक्ने अभियानमा किशोरी र महिलाको सक्रिय सहभागिता हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *