‘कम्युनिष्टहरूको एकताले अधिनायकवाद आउनेवाला छैन’-चौधरी

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले बाम गठबन्धनको सरकारले पाँच वर्षमा देश विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताउनु भएको छ । महिलाहरूलाई लघुवित्त कार्यक्रम मार्फत सामाजिक, आर्थिक, राजनीतिक रूपमा सङ्गठित र सशक्त बनाउँदै देशकै उदाहरणीय महिलाका रूपमा स्थापित चौधरीले एमाले र माओवादी केन्द्र बिचको एकता परिवर्तन र विकासका लागि भएको समेत दाबी गर्नुभएको छ ।

मकालु खबर सँगको भेटघाटमा नेतृ चौधरीले पछिल्लो समय प्रजातान्त्रिक धारका दलहरूले एमाले–माओवादी केन्द्रको एकतालाई गलत व्याख्या गर्दै आएको प्रसङ्गमा एमाले माओवादी एकता जनचाहना र देशको आवश्यक्ता अनुसार भएको समेत दाबी गर्नुभयो ।
प्रस्तुत छ उहाँसँग मकालु खबरका प्रधान सम्पादक केशव सापकोटाले गर्नुभएको कुराकानीः

आजभोली राजनीतिक कार्यक्रम र गतिविधिमा कमै सहभागिता देखिन्छ कतै यहाँमा प्रतिनिधिसभा निर्वाचनमा भोग्नु परेको षड्यन्त्र पूर्वक हारले निराश बनाएको त हैन ?

त्यस्तो निराश भईहालेको अवस्था हैन । तथापि, जुन प्रकारले मलाई राज्यका शक्ति नै लागेर सड्यन्त्रपूर्वक हराए त्यसले केही चिन्तित गराएको पक्कै हो । एउटा महिला जसले आफ्नो जीवनको अधिकतम समय समाज र राष्ट्रमा व्याप्त सामाजिक, आर्थिक, राजनीतिक विभेदका विरुद्ध महिलालाई एकजुट बनायो, त्यसलाई राज्यका हरेक अङ्ग लागेर परास्त गराउँदा त्यसले स्वाभाविक रूपमा मलाई मानसिक र मनोबैज्ञानिक रूपमा कमजोर बनाएको थियो । तथापि, त्यस्ता सड्यन्त्रकारीहरुलाई जनताको मनले धिक्कारी सकेको अवस्था छ । मैलेपनि त्यो षड्यन्त्रका विरुद्ध राज्यले प्रदत्त गरेको कानुनी बाटाहरू अपनाएका कारण त्यो घटनाबाट बाहिरीसकेको छु । अहिले पनि म महिला हक अधिकारलाई संस्थागत गर्न र जनताको सेवाका लागि रहदम तयार भएर लागेकी छु, म राजनीति र समाजसेवाबाट टाढा भएकी छैन ।

प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रबिच जसरी तालमेल भयो त्यसपछि पार्टी एकिकरणमा किन सुस्तता भइरहेको छ ?

सुस्तता भएको छैन, दुवै पार्टीभित्र यसका लागि आन्तरिक तयारी भइरहेको छ । मुख्य रूपमा दोस्रो तहका नेताहरूको समायोजनका विषयमा गृहकार्य गर्नुपर्ने, पार्टीको विधान, नितीगत कुराहरू मिलाउनु पर्नेछ । दुवै पार्टीबाट एकताका लागि कमिटी बनेर तीनले काम गरिरहेको अवस्था छ । फेरी यहिबेला सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन लगायत सभामुख उपसभामुखको निर्वाचनका कामहरू भए । मन्त्री परिषद् पनि विस्तार भएकोले केही सुस्तता भएको हो । तथापि, आन्तरिक रूपमा पार्टी एकिकरणका विभिन्न काम भइरहेको छ ।

शान्ति प्रक्रिया संविधान निर्माणसम्म आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच पानी बाराबारको अवस्था थियो, तर, प्रतिनिधि सभा निर्वाचनसम्म आइपुग्दा पार्टी एकिकरण सम्मै जाने समीकरण कसरी बन्यो ?

राजनीतिमा कहिल्लै पनि स्थायी शत्रु र मित्रु हुँदैनन् । यो समय र परिस्थितिले निर्धारण गर्ने कुरा हो । द्वन्द्वकाल र शान्ति प्रक्रियासँगै संविधान निर्माणको समय अहिले छैन । अहिले संविधान कार्यान्वयमा गइरहेको अवस्था छ । एमाले–माओवादीको मिलनबिन्दु समय र परिस्थितिले निर्धारण गरेको हो । हामीले लामो समयदेखि अस्थिर राजनीति झेलिरहेका थियौँ । अस्थिर राजनीतिका कारण हामी आर्थिक, सामाजिक विकासमा पछि परिरहेका थियौँ । यही कुरालाई ध्यान दिएर नेकपा एमाले र माओवादी केन्द्र बिच अब कम्युनिस्ट पार्टीहरू एउटै पार्टी बन्नु पर्छ । दुई तिहाइको सरकार निर्माण गरेर देशलाई विकास र संवृद्धि तर्फ डोर्याउनु पर्छ भन्ने सोच लिएर नै अगाडी बढेकोले सो समीकरण बनेको हो ।

पहिला पार्टी एकीकरण अनि सरकार गठन गर्ने कुरा आएपनि पछि त सरकार गठनलाई नै प्राथमिकता दिईयो नि, पार्टी एकीकरणमा केही द्विविधा पैदा भएको त हैन ?

माओवादी केन्द्रका केही नेता ज्युहरूले सरकार गठन हुनुभन्दा अगाडी पार्टी एकीकरणलाई प्राथमिकता दिऊँ भन्नु भएको थियो । तर, हाम्रा अध्यक्ष र माओवादी पार्टीका अध्यक्षले नै सरकार निर्माणसँगै पार्टी एकिकरणलाई लिएर जाने जेन्टल सहमति गर्नुभएको थियो । देउवा सरकार बाहिरीए पछिको अवस्थामा सरकार पनि गठन गर्नुपर्ने र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको निर्वाचन गर्नुपर्ने भएकोले सबैको ध्यान त्यता तर्फ गएको हो । पार्टी एकीकरणका विषयमा कुनै द्विविधा छैन । केही समयमै एकीकरणका सबै प्रक्रिया पुरा हुन्छन् ।

अध्यक्ष केपी ओलीले एमाले–माओवादी मिलेर बहुमत पुगेको अवस्थामा दुई तिहाइको आकाङ्क्षा गर्दै मधेशवादी दलसँग सहकार्य पनि गर्न खोज्नुभयो, कतै दुई तिहाइको आडमा कम्युनिष्टहरूले अधिनायकवाद लागू गर्न खोजेको त हैन ?

एमाले–माओवादीको एकीकरण र अन्य दलहरूसँगको सहकार्यले देशमा कम्युनिष्ट अधिनायकवाद आउने भो भनेर प्रतिपक्षीहरूले गलत र्हुइयाँ फैलाएका मात्र हुन् । जनताले जनमतद्वारा कुनै एक दललाई स्पष्ट बहुमत नदिएको अवस्था, निर्वाचन अघि नै दुवै पार्टीका अध्यक्षहरूले मुलुकमा स्थायी शान्ति र संवृद्धि ल्याउनका लागि स्थिर सरकार आवश्यक रहेको भन्दै एकताको आब्हन गरेको अवस्थाबाट यो गठबन्धन बनेको हो । यसको एउटै उद्देश्य पाँच वर्षभित्र देशलाई संबृद्धशाली बनाउने, जनताको घर दैलोमा विकास पुर्‍याउने, दूर दराजमा रहेका गरिबी, अशिक्षा, पछौटेपनलाई निमिट्यान्न पार्ने हो । दुई तिहाइको स्थिर सरकार भयो भने, ढुक्कले पाँच वर्षसम्म काम गर्न सक्छ । आफ्ना र जनताका एजेन्डा लागू गर्न सक्छ भनेर यसो गरिएकोले कसैले कम्युनिष्ट एकतालाई अधिनायकवादको आरोप लगाउँदैमा त्यो आउनेवाला छैन ।

विश्व परिवेशमा कम्युनिष्ट शासनसत्ता धेरै देशमा सफल भएको पाइन्न, नेपालमा गरिएको यो प्रयोग सफल हुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?

चीन, रुस जस्ता विश्वका शक्तिशाली देशको इतिहास हेर्नुहोस् त्यहाँ जति पनि विकास, परिवर्तन भए ती सबै कम्युनिष्ट शासनबाटै भएका छन् । कम्युनिष्ट शासन सत्तामा कोही पनि शासक हुँदैनन् । ७५–८० को दशकसम्म विश्वको गरिब देशहरूको सूचीमा रहेको चीन आज विश्वको शक्तिशाली अर्थतन्त्र भएको देश बन्नुमा त्यहाँ स्थापित कम्युनिष्ट शासन नै हो । विश्वका अन्य धेरै देशहरूको आर्थिक विकास हेर्दा कम्युनिजमबाटै भएको पाइन्छ ।

नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा हामीले २ सय ४ वर्षे राणा शासन, ४० वर्षे राजतन्त्रात्मक पञ्चायती व्यवस्था, त्यसपछिको राजासहितको बुहदलिय शासन व्यवस्था समेत भोगी सकेका छौँ । ती सबै आ–आफ्ना समय र कालखण्डमा ठिक थिए होलान् । तर, अहिलेको अवस्थामा हामीले विश्वसँग प्रतिस्पर्धा गर्ने शासन प्रणाली अपनाउनु आवश्यक थियो र, त्यो प्रणाली भनेको सङ्घीय शासन प्रणाली हो । नेपालमा प्रयोग गरिएको बहुदलिय शासन व्यवस्था सहितको संघात्मक राज्य प्रणाली विश्वको राजनीतिमा उदाहरण बन्न सक्छ ।

हामीले जतिसुकै शासन व्यवस्था परिवर्तन गरिरहेपनि शासकहरू अझैपनि पुरानै व्यवस्थाका छन्, तीनको सोच र विचार परिवर्तन नभएसम्म कसरी परिवर्तन संस्थागत हुन्छ ?

एकदमै सही कुरा हो । हामीभित्र अझैपनि पुरातन सोच र विचार हाबी छ । २००७ साल यताको राजनीतिक चक्रलाई हेर्ने हो भने, तीनै पात्र र प्रवृत्ति सत्तामा पटकपटक हाबी भएको देखिन्छ । पात्र र प्रवृत्तिको चरित्र जबसम्म परिवर्तन हुँदैन । उ भित्र देश र जनताप्रति माया र कर्तब्यबोध हुँदैन, तबसम्म परिवर्तन स्थायी हुँदैन । यही अवस्थालाई दृष्टिकोण गरी नेकपा एमालेले अब परिवर्तनका पक्षधर एक हुनुपर्छ भनेर कम्युनिष्टहरूबिच एकीकरण र एकताको आब्हान गरेको हो ।

तपाईँलाई के लाग्छ कम्युनिष्टहरूको एउटै पार्टी बनाउँदैमा देशले अग्रगामी छलाङ मार्छ ?

नेपालमा कम्युनिस्टहरू विभिन्न गुट र स–साना झुन्डमा अल्झिएका छन् । सबैका विचार सिद्धान्त करिबकरिब उस्तै भए पनि कार्यशैली र ब्यक्तिवादका कारण एक हुन नसकेका हुन् । पञ्चायती शासन व्यवस्थासँगै ०४६ सालको बहुदलिय व्यवस्था र त्यसपछि ०५२ सालको सशस्त्र द्वन्द्व अनि ०७२÷०६३ साल यताको राजनीतिमा यदि कम्युनिस्टहरू एउटै पार्टीमा आबद्ध भएको भए हामीले अहिले हासिल गरेको परिवर्तन १५ वर्ष अगाडी नै प्राप्त गरेका हुन्थ्यौँ, विडम्बना त्यसो हुन सकेन । हामीले धेरै वर्षसम्म नेपाली काँग्रेसले अङ्गीकार गरेको राजा सहितको शासन व्यवस्था भोग्यौँ । त्यसले हामीलाई जति परिवर्तन गर्‍यो त्यो कम भयो । र, अब हामीले कम्तीमा ५ वर्ष नेकपा एमालेको नेतृत्वमा जनताको बहुदलिय जनवादमा आधारित रहेर देशको नेतृत्व गर्ने भएकोले पक्कै पनि देशले अब विकासमा अग्रगामी छलाङ मार्नेछ ।

केपी ओली नेतृत्वको सरकारले उठाएका महत्त्वपूर्ण एजेन्डा केके छन् ?

स्थायी सरकार, स्थायी विकास र स्थायी राजनीति । यी तीन कुराबाट यो सरकार बनेको हो । हामीले राजनीतिक अधिकार प्राप्त गरिसकेका छौँ । जनताद्वारा संविधानलाई अनुमोदित पनि गरिसकेको अवस्थामा हामी सामु अब देशलाई आर्थिक विकासको बाटोमा कसरी अगाडी बढाउने मात्र एजेन्डा छन् ।

युवा स्वरोजगार, प्राविधिक जनशक्ति उत्पादन, वैज्ञानिक कृषि प्रणाली, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, यातायात जस्ता विकासका आधारभूत आवश्यक्तामा जनताको पहुँच, सङ्घीय संरचनामा स्थानीय तहमा स्थानीय जनताको अधिकार विकास लक्षित एजेन्डा यो सरकारका प्राथमिकतामा परेका छन् । देशमा रहेको अथाह जलविद्युतको अधिकतम उपयोग गरी ऊर्जा मार्फत आर्थिक क्रान्तिको गर्ने दीर्घकालीन योजना छ । पर्यटनलाई विकासको आधारका रूपमा लिइएको छ । भ्रष्ट्राचारमा शून्य सहनशीलता यो सरकारको अर्को एजेन्डा भएकाले अब देशले विकासको गति समात्छ भन्नेमा पूर्ण विश्वस्त छु ।

नेपालको भौगोलिक अवस्था र दुई ठुला छिमेकी देश बिचको टकरावले पनि नेपालको विकासमा असर परेको भन्छन्, यहाँले कसरी लिनुहुन्छ ?

हाम्रो भौगोलिक बनावट, जातीय संन्तुलन, प्राकृतिक सम्पदा हेर्दा हामी कहाँ चुनौती सँगै अथाह सम्भावना पनि छन् । विश्वमा त्यस्तो देश छैन तीन घण्टाको दुरीमा तीन प्रकारका हावापानी पाइन्छ । नेपाल प्रकृतिको देन हो । यहाँ समथर तराई देखि विश्वकै सर्वोच्च शिखर समेत रहेकाले प्राकृतिक रूपमा नेपाल विश्वकै धनी देश हो । पर्यटन यस्तो व्यवसाय हो जुन सेवाका दृष्टिकोणले संसारकै उत्कृष्ट व्यवसायमा गनिन्छ । हामीले पनि यही पर्यटनलाई उपयोग गरेर देशको विकास गर्न सक्छौँ ।

जहाँसम्म भूपरिवेष्टित देश र दुई ठुला छिमेकी देशको कुरा छ, हाम्रा छिमेकीको आर्थिक विकास र प्रविधिलाई आत्मसात् गरेर अगाडी बढ्न जरुरी छ । दुई ओटालाई समान दृष्टिकोणले आफू अनुकूल हेर्न जरुरी छ । एउटालाई बोकेर अर्कोलाई रोक्न थालियो भने समस्या पैदा हुन्छ । यो कुरा हामीले तय गर्ने परराष्ट्र नीतिमा भर पर्छ ।

बाम गठबन्धनको सरकारले बहुमत हासिल गरेर सरकार चलाइरहँदा नेपाली काँग्रेसका केही जिम्मेवार नेताहरूले प्रतिपक्षमै रहेर नेकपा एमाले–माओवादीलाई घुँडा टेकाउने अभिव्यक्ति दिइरहेका छन् यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

प्रतिपक्ष बलियो भयो भने, सरकार जनता प्रति जवाफदेही हुन्छ । लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भनेकै यही हो । तसर्थ, नेपाली काँग्रेसले प्रतिपक्षमा रहेर सरकारले गरेका काम कारबाहीलाई गुण र दोष छुट्याएर समर्थन गर्नु भनेको कुनै गलत हैन । तर, प्रतिपक्षमा रहिरहँदा सरकारले ल्याएका राम्रा नीति तथा कार्यक्रमलाई पनि अवरोध गर्ने काम भने गर्नु भएन । देशमा विधिको शासन व्यवस्था कायम गर्न र स्थानीय तहमा भए गरेका कामको मुल्याङकन र अनुगमन गर्ने भनेकै प्रतिपक्षले हो ।

नेपाली काँग्रेसका केही नेताहरूले जसरी घुँडा टेकाउने कुरा गर्नुभएको विषयमा अहिले नै उहाँको अभिव्यक्तिमा टिप्पणी गर्ने भन्दा पनि भोलिको दिनमा उहाँहरूले प्रतिपक्षमा रहेर गर्ने व्यवहारबाट प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *