के अझै नसुध्रने हो काँग्रेस ?

आजको सेरोफेरो २१ औँ शताब्दीको वातावरणमा रुमल्लिएको छ । ठुला ठुला आविष्कारसँगै राजनैतिक रूपमा पनि धेरै देश परिवर्तित छन् । नेपाल जोसँग आफ्नो छुट्टै इतिहास र पहिचान छ, तानासाही राणा शासन देखि पट्यारिलो पंचायती राजनैतिक आडम्बरी शासन सम्म जनता प्रत्यभुत भैसकेका छन् । हो हिजो त्यस्तो दिन थियो जुन बेला राणाका परिवारले मात्र सेवा सुविधा पाउँथे । आज पद्धति फरक छ तर प्रणाली उस्तै ।

आज थर राणा हट्यो पद श्री हट्यो । तर राजनैतिक आडम्बरी खोल हटेको छैन । जनतालाई डाल बनाएर जनताको नाम नै श्री भन्दै आफू सर्वशक्तिमान बन्ने प्रचलन अझ बढी मौलाएको छ । हिजो एउटा टाउकोले दाबा गर्थे आज सयौँ टाउको म भन्दै दावा गर्दै छन् । बरु हिजो संस्कार थियो तर आज त्यो संस्कार पनि एका देशको कथा भएको छ ।

सर्सर्ती हेर्दा २०७४ को संसदीय चुनावमा काँग्रेस पुरानो शक्ति र पुर्खजको बलिदानको ढोङले मात्रै चुनाव जितिन्छ भन्ने आडम्बरी शैलीका साथ आन्तरिक व्यवस्थापन सम्म नमिलाइ चुनावमा गयो भने चतुर कम्युनिस्टहरू चुनाव अगाडि सम्म पानी बाराबारेको स्थितिलाई सदियौको सारथि झैँ सबै प्रपञ्च मिलाएर गए । कम्युनिस्ट अब एक भयो हामी विकास र आर्थिक समृद्धि सहितको देश बनाउछांै भन्ने नारा बोकेर चुनावी मैदानमा होमिए । फलस्वरूप तत्कालीन देशकै ठुलो पार्टी नेपाली काँग्रेस नराम्ररी खुम्चियो भने क्रमशः ठुलो पार्टी नेकपा एमाले र नेकपा माओवादीको तालमेल सफल भयो । जनमतले स्पष्ट देखायो जनमत कसैको मुठ्ठीको मकै होइन ।

के हो काँग्रेस ?

सामान्य भाषामा बुझ्दा नेपाली काँग्रेस स्वतन्त्र शक्ति सहितको पूर्ण लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । यो यस्तो पार्टी हो जुन पार्टीमा उसको आधिकारिक मान्छेले यदि उसलाई आफ्नो पार्टीको निर्णय मन परेन भने पार्टीको बैठकमा मात्रै होइन संसद् भवनको रोस्ट्रममा पनि पार्टीको विरोध गरेर आफ्नो भावना स्पष्ट राख्न पाउँछ । यो यस्तो पार्टी हो जुन जहाँ सभापतिसँग समेत खुलेआम असहमति राखेर उसको विरुद्ध उभिन पाउँछ र उसका हरेक असहमतिहरू खुलेर राख्न पाउँछ तर कम्युनिस्टहरू बन्धनले बाँधिएका हुन्छन् । पार्टीको निर्णय बाहिर गएर बोल्यो भने सम्भवत उ पार्टी बाटै निस्केसित हुनु पर्छ । यो उनीहरूको बन्धन पनि हो र नियम पनि हो ।

किन चुनाव हार्‍यो काँग्रेस ?

थुप्रै राम्रा सामाजिक, राजनैतिक, भौगोलिक पक्ष समेटेर कयौँ विज्ञहरू राखेर सबै पक्ष, अर्थ र भूगोल मिलाएर घोषणा पत्र बनाइए । मिले सम्म पर्चा र पम्लेट भित्ता देखि चौतारा सम्म टाँसिए । तर कुनै पनि पक्ष जब जनतालाई बुझाउने बेला हुन्छ तब गाउँ गाउँमा चुनावको सङ्घारमा केही बोलिएन फेरि त्यै रटाइ २०६४ र २०७० सालको चुनावमा जस्तै काँग्रेस २००७ सालमा प्रजातन्त्र स्थापना गर्ने पार्टी, बिपि, सुबर्ण शम्सेर, गणेशमान र कृष्णप्रसाद भट्टराईको योग्दानले बनेको पार्टी, राणा राजा सँङ लडेको पार्टी भन्ने नारा मात्रै लगाइए । यदाकदा बाहेक कतै पनि नेताले घोषणापत्र बोलेनन् । जे २०६४ को चुनावमा कन्ठस्थ थियो त्यही मात्र ओकेले ।

विषय र परिवेश बदलियो तर नेतृत्वको शैली बदलिएन । यो मात्र होइन जनतामा पुरानै एउटा आक्रोश थियो यतिका धेरै समय सत्तामा बसेर जनतालाई प्रत्यक्ष छुने विषय के दियौ ? चार चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एउटा लोकप्रिय नारा जनतालाई दिन नसक्ने अनि उल्टै एक पटक प्रधानमन्त्री बनेका मनमोहनको लोकप्रिय नारा हामीले गर्दा त्यो सम्भव भएको भन्नू पनि अर्को गल्ती रह्यो । कतै नेतृत्वको अदुर्दर्शी निर्णय अनि गुट र उपगुटले बढी प्राथमिकता पाउँदा पनि यो परिणाम भोग्नु पर्‍यो ।

अबको बाटो ?

आजको दिनमा नेपाली काँग्रेसमा सबैभन्दा खड्किएको कुरा सम्झौता हो । वर्तमान परिवेशमा देश र जनताको नाममा कुनै नेता सम्झौता गर्ने पक्षमा छैनन् । सबैमा म को अहङ्कार छ । पार्टी म वादमा चलिसक्यो । संसदीय दलको नेता म, पार्टी सभापति म विभाग प्रमुख मेरो मान्छे, विभिन्न भातृ संस्थामा मेरो मान्छे । यी सबै अहङ्कारको पछाडि नेतृत्वको अदुर्दद्र्शिता छ । जो बने पनि एउटा काँग्रेस भन्ने छैन । आजकाल पार्टीमा गुटबन्दीको पराकाष्ठा यति सम्म भैसक्यो कि आफ्नो गुट भन्दा अरू कुनै नेतासँग गएर फोटो मात्र खिचे उसको दिनगन्ति सुरु हुन्छ ।

सङ्गठन र सामूहिक शक्ति भन्ने सबै हराइसक्यो । पुजिपतिहरु आजकल धनको बलमा राजनीति र राजनैतिक व्यवस्थामाथि आधिपत्य स्थापित गर्दै सम्पन्न साली वर्गको मातहतमा राजनीति पुराइसके । जुन गएको चुनावमा पनि स्पष्ट देख्न पाइन्थ्यो । यस्ता अराजनैतिक तत्त्वको पनि बेलैमा निगरानी गरिनुपर्छ । काँग्रेस भित्र आफ्नो कुराको मात्र बजारमा व्यापार गर्दै छन् त्यो राम्रो होस या नराम्रो कुनै प्रवाह छैन । उक्त कुरा पार्टी हितमा होस या नहोस् तेस्को पनि प्रवाह छैन । मात्र तुलना आफ्नो स्वार्थसँग मात्र छ । अब यो संस्कार पनि पार्टी बाट हट्नुपर्छ ।

बि.पी. कोइरालाले कुनैबेला भन्नुभएको थियो म जनतालाई सुसंगठित गर्ने र उनीहरूलाई आधारभूत राजनीतिक विवादहरूबारे बोध गराउने जस्ता कार्यमा दत्तचित्त रहेको छु । हो आजको नेतृत्वले पनि बि.पी.को नाम भज्ने मात्र होइन । यी सबै बि.पी.को राजनैतिक पद्धति अनुसरण गर्ने चेष्टा पनि गरोस् । राजनैतिक रूपमा नेपाली काँग्रेस अब सच्चिनुको विकल्प छैन । लोकतान्त्रिक पार्टीको अरू भन्दा धेरै अवसर र चुनौती दुवै छ । भाषिक विभेद अनि केही मतभेद पनि होलान् । तर देशलाई अब गुट र उपगुटमा परिणत गर्नु भएन । बि. पी. आदर्श मात्र बाढ्ने होइन, काम गर्ने नेतृत्व पङ्क्ति स्थापना गर्न सक्नु पर्‍यो, व्यक्तिले पार्टी सञ्चालन होइन पार्टीद्वारा व्यक्ति सञ्चालित हुनुपर्छ । अब झुन्डमा रमाउने होइन सबै कार्यकर्तालाई हेर्ने आँखा समान हुनुपर्छ । सत्ता र स्वार्थ भन्दा माथि उठेर देश र जनता भन्ने भावना विकास गर्न सके मात्र नेपाली काँग्रेस फेरी जनप्रिय पार्टी बन्ला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *