अपडेट– बक्राहामा भिषण आगलागी : ८२ घर जले, दुई जना घाईते

इटहरी, चैत ४ ।  सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा बस्तीमा रहेका ४६ घरपरिवारका झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिएका छन् । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ छ ।

पुरन चौधरीको घरबाट लागेको आगोबाट ५ वटा ग्यास सिलिन्डर बाट पड्केका थिए । आगलागीमा परी १२ वटा घरपालुवा जनावर जलेर मरेको छ । प्रभु शरदार र अमरलाल उरौव गम्भिर घाइते भएका छन् ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपत्कालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिएका छन् ।

बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको पनि प्रनाउ चिमौरियाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *