उपराष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

काठमाडौं, चैत ३ । उपराष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि आगामि शुक्रबार हुने निर्वाचनका लागि आज उम्मेद्वारी मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचन सकिएसँगै उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

आज दर्ता भएको उम्मेद्धवारको अन्तिम नामावली भोली साँझ ६ बजे प्रकाशित गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली यस अघि नै प्रकाशित भइसकेको छ । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८३ जनाले मतदान गर्नेछन् ।

सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित तीन जनाले पनि उपराष्ट्रपति निर्वाचनमा मत हाल्न पाउने भएका हुन् । यस अघि राष्ट्रपति निर्वाचनमा भने उनीहरुले मतदान गर्न पाएका थिएनन् । प्रदेश सभा सदस्य राजीव गुरुङले भने उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

पुनलाई नै अघि सार्दै माओवादी
माओवादी केन्द्रले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै उपराष्ट्रपतिको उम्मेद्वारमा अघि सार्दै आज मनोनयन दर्ता गर्दै छ । एमाले र माओवादीको संयुक्त बैठकले बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै सोही पदमा दोहो¥याउने निर्णय गरेको हो ।

एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहो¥याएपछि माओवादीले पनि पुनलाई पुन उपराष्ट्रपतिमा दोहो¥याउने निर्णय गरेको हो ।  उम्मेद्वारी मनोनयन गर्ने समय भित्र भावी उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति पुनको मनोनयन दर्ता गरिने माओवादीले जनाएको छ ।

यसैबीच उपराष्ट्रपतिमा नेपाली कांग्रेसले उम्मेद्वारी नदिने जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपराष्ट्रपतिमा आफुहरुले दावी नगर्ने बताउनुभएको हो । वाम गठबन्धनको बहुमत रहेको र कांग्रेसले पनि उम्मेद्वारी नदिने भएपछि उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुहुने निश्चित भएको छ ।

आजदेखि निर्वाचन आचारसंहिता
निर्वाचन आयोगले यहि शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । आज उम्मेदवारी दर्ता गरिनेभएसँगै आजैबाट आयोगले आचारसंहिता लागु भएको जनाएको हो । निर्वाचन आयोगले सूचना जारी गर्दै उपराष्ट्रपति निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू भएको जनाएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार उपराष्ट्रपति निर्वाचनका लागि लागू गरिएको आचारसंहिता अन्य निर्वाचन अचारसंहिता जस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *