चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट


“
काठमाडौं, असार २७ । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाइ मंगलबार दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको छ ।
रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ ।
राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशअनुसार शर्मालाई अहिलेपनि थुनामा राखिएको छ ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्यसचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायतका आरोप छ ।
“
