प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा

काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । सरकार विस्तार हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् । मन्त्रिपरिषद् विस्तारकै विषयमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान छलफल भएको छ । एमालेबाट यसअघि प्रधानमन्त्रीसहित चार जनाले सरकारमा सहभागिता जनाइसक्नुभएको छ ।

शुक्रबार हुने मन्त्रिपरिषद् विस्तारमा प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल मन्त्री हुने सम्भावना रहेको स्रोतले जानकारी दियो । एमाले स्थायी कमिटीले आफ्नो पार्टीका तर्फबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको छ । माओवादी केन्द्रले पनि मन्त्रीको टुङ्गो लगाउन बिहीबार पार्टीको बैठक आयोजना गरेको थियो । प्रवक्ता पम्फा भुसालले बैठकमा मन्त्रीका विषयमा केन्द्रित भएर छलफल भएको र मन्त्री सिफारिस गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिनुभयो । उहाँले शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने गरी प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुने बताउनुभयो ।

माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, बीना थापामगर, गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ । माओवादीबाट यसअघि रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएको छ । माओवादीलाई भागबन्डामा सातवटा मन्त्रालय परेको छ ।

फोरम नेपाल पनि शुक्रबार हुने मन्त्रिपरिषद् विस्तारमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । तर, फोरमबाट मन्त्रीको सिफारिस भएर नआएको सचिवालयको भनाइ छ । यस विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच वार्ता हुनेछ । फोरम नेपाल अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइनसके पनि अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । भागबन्डामा फोरमले दुईवटा मात्रै मन्त्रालय पाउने सम्भावना छ ।

यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल र डा. युवराज खतिवडा सरकारमा सहभागी भइसक्नुभएको छ । अब विस्तार हुने सरकारमा एमालेबाट चार जनाले मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ । दलीय सहमतिअनुसार एमालेको भागमा नौ मन्त्रालय परेको छ । फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिनुभएका अध्यक्ष ओलीले त्यही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले फागुन १४ गते दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

 

राजपा सरकारमा नजाने
प्रधानमन्त्री ओलीले फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई समेत सरकारमा सहभागी गराउने प्रयास गर्नुभए पनि राजपा तत्काल सरकारमा नजाने भएको छ । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा जाने ठोस आधार तयार भइनसकेकाले तत्काल सरकारमा सहभागी नहुने बताउनुभयो । तर, सरकारलाई बाहिरबाटै समर्थन गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *