न्यायालय भकभक उम्लिन थाल्यो : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय भकभक उम्लिन थालेको भन्दै गम्भिर चिन्ता ब्यक्त गरेका छन् ।

आफूलाई विश्वासको मत दिने चार दलका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरुको सम्मानमा आयोजित चियापान कार्यक्रममा ओलीले न्यायाबारे आफूले टिप्पणी गर्न नचाहेपनि छताछुल्ल भएको बताए । कतिलाई प्रधानमन्त्रीले न्यायालयबारे नबोले हुन्थ्यो भन्ने लागेको भन्दै उनले अघि भने, ‘प्रधानमन्त्री एउटा नबालेर के हुन्छ र ? त्यहाँ न्यायालय भकभक उम्लिराख्या छ ।’ उनले अघि भने, ‘अब के बोल्नु, के नबोल्नु ? बोलेर के हुने, नबोलेर के हुने ? बेञ्च बसेको छैन । न्याय पाउँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन् ।’

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था ।’

प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले हास्दै भने, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने । यो कुनै मल्ल युद्धको विषय हो ? कुस्ती खेल्ने विषय हो ?’

‘जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ । एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र के गरेको यो ?’

अदालत, जहाँ मान्छेले आफ्नो आस्था अड्याउन चाहन्छन्, त्यहाँ बडो विचित्रको स्थिति देखिएको भन्दै उनले यो सैहृय नभएको बताए । संविधान र कानुनको वर्खिलाप जाने र एकअर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नभएको उनले बताए ।

जनप्रतिनिधिको भान्सा समेत खुला हुनुपर्छ

ओलीले जनप्रतिनिधिको भान्सासमेत गोप्य रहन नहुने बताएका छन् । ओलीले जनप्रतिनिधिहरुले आफूलाई नजिकबाट हेर भन्न सक्नुपर्ने बताए । ओलीले भने, ‘तपाई जनप्रतिनिधि हो, तपाईको भान्सा गोप्य रहनु हुदैन । भान्छामा कसैलाई पस्न दिन्न भन्नुहुन्छ भने त्यहाँ केही छ, कन्ठी बाँधेको छ तर, मुसा खान्छ कि ?’

नजिकबाट हेर्दा पनि दागरहित हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म च्यालेन्जका साथ भन्छु, नजिकबाट हेर्नुस्, दाग-धब्बा देख्नुभयो भन्नुस् ।’

उनले अघि भने ‘परबाट हेर्दा सुकिलो देख्यो । यसो नजिक गएर हेर्दा अलिकति भ्रष्टाचार, अलिकति बेइमानी देखियो भने नराम्रो हुन्छ ।’

चियापानमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका सांसद र नेताहरु सहभागि थिए । समारोहलाई सम्वोधनगर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिने सांसदलाई धन्यवाद दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *