युएस बंगला विमान दुर्घटना, जो चितवनवासीलाई रुवाएर गए

भरतपुर, फागुन ३० । घर अगाडिको तुलसीको मोठ मौन छ । वरिपरी टोलका बासिन्दाको बाक्लै भीड छ । कोही बोल्न सक्दैनन्, चुपचाप छ मुखहरु । भेट्न आएका घरका आफन्तहरुलाई सान्त्वना दिन पनि सकिरहेका छैनन् ओठहरु ।

भरतपुर महानगरपालिका ४ नम्बर वडाको भगवती टोलमा रहेको डाक्टर बालकृष्ण थापाको एक तले घरमा दिउँसै चकमन्न अँध्यारो छाएको छ । भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ न्यूरो सर्जन थापाको बंगलादेशमा चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर सोमबार फर्कदै गर्दा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गएपछि उनी बस्ने टोलमात्र होइन, मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुर नै शोकमा डुबेको छ ।

‘डाक्टर थापा सयौँका भगवान थिए, उनले सयौँ बिरामीलाई पुनः जीवन दिएका छन् । तर उनी आफैँ अस्ताएको खबर सुन्दा पत्याउन सकिएको छैन’ डाक्टर थापाकी छिमेकी भगवती टोलकी अगुवा महिला राधा खड्काले भनिन्, ‘सयौँका भगवानलाई दैवले किन छिटै चुँड्यौ ?’

उनका अनुसार डाक्टर थापाको निधनले सिङ्गो जिल्लामात्र होइन, देशलाई नै घाटा भएको छ । ‘अति राम्रोसँग उपचार गर्नुहुन्थ्यो, मिजासिलो मृदुभाषी हुनुहुन्थ्यो । उहाँजस्तो डाक्टर अब कहाँ पाउनु ?’ खड्काले भनिन्, ‘मेरा कयौँ आफन्तहरुलाई उहाँले पुनर्जिवन दिनुभएको छ । उहाँको निधनको खबरले रातभर टोल निदाउन सकिरहेको छैन ।’ छिमेकीका अनुसार डाक्टर थापा सो टोलमा विगत ६ वर्षदेखि बस्दै आएका थिए ।

डाक्टर थापा दुःखद निधनप्रति भरतपुर चौबिसकोठीमा रहेको चितवन हस्पिटलले मंगलबार इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको थियो । अस्पताल सुनसान थियो । अस्पतालमा रहेका केही कर्मचारीहरु मर्माहत थिए । दुःखद घटनाबारे मुख खोल्न कोही सक्थेनन् ।

‘चितवनको न्यूरो सर्जनको खम्बा ढल्यो, एउटा कुशल सक्षम डाक्टर चितवनले गुमाएको छ’ चितवन हस्पिटलका सञ्चालक समितिका अध्यक्ष चुडामणि घिमिरेले भने, ‘आइतबार आएर बिरामी हेर्छु भन्नुभएको थियो, सोमबार यस्तो दुःखद खबर सुन्नुपर्दा छाँगाबाट खसेजस्तो भएँ ।’

उनले डाक्टर थापासँग फागुन २२ गते बेलुका आठ बजे भेट भएको बताए । ‘बंगलादेशको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिन जाँदैछु केही भन्नुभएको थिएन, अचानक जानुपर्दा भन्न भ्याउनुभएन होला’ अध्यक्ष घिमिरेले भने, ‘चितवन हस्पिटलमा उहाँलाई कुरेर बसेका थुप्रै बिरामी थिए, तिनीहरुले उहाँको हातबाट उपचार गर्न पाएनन् ।’

अध्यक्ष घिमिरेका अनुसार चितवन हस्पिटलमा डाक्टर थापा २०५८ सालदेखि नै वरिष्ठ न्यूरो सर्जनको रुपमा कार्यरत थिए । ‘यो एउटा हस्पिटललाई मात्र होइन, भरतपुर सिटीलाई नै ठूलो क्षति भएको छ’ अध्यक्ष घिमिरेले भने ।

डाक्टर थापा २०५९ सालदेखि भरतपुरको क्यान्सर अस्पतालमा आबद्ध भएका थिए । पछिल्लो समय उनी क्यान्सर अस्पतालको सर्जिकल डिपार्टमेन्ट न्यूरो अंकोलोजिष्ट यूनिट चिफ थिए । भरतपुर क्यान्सर अस्पतालका प्रशासक जेएन महतोका अनुसार डाक्टर थापा क्यान्सर अस्पतालमा २०६० सालमा करार हुँदै २०६२ सालमा स्थायी भएका थिए । उनी २०६४ सालमा माघमा ३ वर्ष सञ्चालक समितिको सदस्यमा रहेर काम गरेका थिए ।

‘मैले सहकर्मीमात्र होइन, एउटा मागदर्शन गर्ने अनुभवी हितैषी गुमाएँ । त्यो भन्दा ठूलो सयौँ बिरामीले उनको सही उपचार पद्धतिलाई गुमाउनुपरेको छ’ क्यान्सर अस्पतालका डाक्टर निर्मल लामिछानेले भने, ‘उहाँजस्तो अनुभवी पुराना डाक्टरको निधनले सबैलाई मर्माहत बनाएको छ ।’

कुशादेवी ३ काभ्रेमा २०२४ सालमा जन्मेका थापाले बनेपास्थित कुशादेवी माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । उनले बंगलादेशको ढाकामा रहेको बंगबन्धु सेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्यूरो सर्जरीमा एमडी एमएस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *