महोत्तरीको सीमावर्ती वनमा १०० भन्दा बढी निलगाई फेला

गौशाला, फागुन ३० । महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी निलगाई फेला परेको छ ।

भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँहरुमा १०० भन्दा बढीको संख्यामा दुर्लभ वन्यजन्तु निलगाई देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयले यसअघि कहिले नदेखिएको गाईजस्तो देखिने तर निलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि त्यसलाई देख्नका लागि स्थानीयवासीको ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताए ।

ती निलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलकाहुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवेधश कापरले बताए ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वन नजिकको सबै बालीनाली नष्ट गर्न लागिपरेको छ ।

करिब एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँको बालीनाली नष्ट पारिरहेको गैंढाभेटपुरका वीरेन्द्र यादवले बताए ।

जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा पानीको स्रोतको अभाव, डढेलो र चोरी शिकारीजस्ता क्रियाकलाले तीव्रता पाएको कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *