बच्चा जन्माउनुस्, भत्ता लैजानुस्

इलाम, फागुन ३० । राष्ट्रिय, अन्तरर्राष्ट्रियरुपमा जनसंख्या वृद्धिदर रोक्न अनेक प्रयास भइरहेका बेला इलाम नगरपालिकाले भने ‘जति बढी बच्चा जन्मायो उति नै प्रोत्साहन रकम पाउने’ निर्णय गरेको छ । नगरको जनसंख्या बढाउन भन्दै इलाम नगरपालिकाको कार्यपालिका बैठकले जति धेरै पटक सुत्केरी भयो त्यति नै बढाएर प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई २ हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई ३ हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई ४ हजार र पाँचौं पटक र त्यसभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण सुविधा दिने निर्णय गरेको छ ।

यसअघि सुत्केरीलाई दिँदै आएको पोषण सुविधालाई परिमार्जन गर्दै बच्चा जन्माउन प्रोत्साहन गरेको हो । आगामी २० वर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न यस्तो योजना बनाइएको नगरपालिकाको भनाइ छ ।

स्थानीय तहपछि सेवा सुविधा विकेन्द्रित गरिँदा सदरमुकामको चाम घटदो छ । आवश्यकताभन्दा धेरै जनसंख्या घटेकाले पनि यो निर्णय सही भएको नगरपालिकाको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जनसंख्या नियन्त्रणका लागि विभिन्न उपाय गरिरहँदा आएको यस्तो निर्णयले चर्चा पाएको छ ।

नगरपालिकाको जनसंख्या हाल ४८ हजार ५ सय ३६ छ । यसअघि साबिकको नगरपालिका क्षेत्रमा सन् २०११ मा १८ हजार ६ सय ३३ र २०१५ मा १९ हजार ७ सय १२ जनसंख्या थियो । नयाँ राज्य पुनस्संरचना अनुसार नगरपालिकाको भूगोल वृद्धि भएको छ ।

इलाम नगरपालिकाले जनसंख्या वृद्धि गर्न ल्याएको यो योजना विवादास्पद बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *