प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिलाई शपथ लिन नैतिक संकट

काठमाडौं, फागुन ३० ।  दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसकारण दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिनु पर्नेछ । तर प्रधानन्यायाधीश पराजुलीको विषयमा सडकदेखि सर्वोच्चसम्मै विवाद बढेपछि राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधीशबाट शपथ लिन नैतिक संकट परेको छ ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानन्यायाधीशसँग छलफल गरेर राष्ट्रपतिको शपथ विवादरहित बनाउन सुझाव दिएको खवर पनि सार्बजनिक भइसकेको छ ।

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीलाई सबैभन्दा उपयुक्त विधि बिदामा बस्न आग्रह गरेको स्रोतले जनाएको छ । अवकाशको समय पनि नजिकिंदै गरेकाले राजीनामा दिएर विवादलाई अन्त्य गर्न प्रधान्यायाधीशलाई सत्तारुढ दलले आग्रह गरेका छन् । तर प्रधानन्यायाधीश पराजुलीले भने राजीनामा दिने वा बिदामा बस्ने मनस्थिति बनाएको देखिंदैन ।

यसकारण विवादमा तानिएका प्रधानन्यायाधीशबाटै राष्ट्रपतिले शपथ लिनुपर्ने अवस्था आएको छ । राष्ट्रपतिको शपथअघि ओली र प्रचण्डबीच छलफलको तयारी भैरहेको छ ।

विवाद सर्वोच्चसम्म

जन्ममितिको विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीको विषयलाई लिएर न्यायालय नै विभाजित हुन पुगेको छ । पराजुलीको सेवाअवधि सकिएको भन्दै सर्वाेच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको इजलास नै बहिष्कार गर्न थालेका छन् । चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका ९ न्यायाधीशले पराजुलीको नेतृत्वमा न्यायसम्पादन गर्न छाडेका हुन् ।

सर्वोच्चका १९ न्यायाधीशमध्ये १० जनाले पराजुलीको समर्थन गरेका छन् । विकसित पछिल्लो घट्नाले न्यायालयको काम कारवाहीमा समेत प्रश्न उठेको छ ।
यस्तै  प्रधानन्यायाधीश पराजुलीको पक्ष र विपक्षमा नेपाल बार एशोसिएसन पनि विभाजित भएको छ । बारका अध्यक्ष शेरबहादुर केसीलगायतले न्यायाधीश चोलेन्द्र शमशेरले आचारसंहिता उल्लंघन गरी अदालतमाथि प्रहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

तर, उपाध्यक्ष उषा मल्ल पाठकसहित केन्द्रीय समितिका तीनजनाले भने बार नेतृत्वले बहुमतको आडमा निर्णय गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *