धरानका मेडिकल पसलमा खुलेआम लागूऔषध विक्रि

फागुन २७, धरान । धरानमा लागू औषध प्रयोगकर्ता बढुनुमा स्थानीय मेडिकल सञ्चालक समेत जिम्मेवार भएका पाईएको छ । प्रतिबन्धित लागूऔषध मेडिकलमा खुलेआम विक्रिवितरण हुँदा धरानमा लागू औषध प्रयोगकर्ता बढेका हुन् ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अगाडीका मेडिकल पसलहरुमा खुलेआम लागू औषध विक्रि वितरण भएपनि नियन्त्रणमा कसैले चासो दिएको छैन ।
प्रतिष्ठान गेट अगाडिका केही मेडिकलहरुमा विभिन्न औषधी सँग मिसाएर बनाएर लागूऔषध विक्रि वितरण भईरहेको छ । प्रतिष्ठान अघिल्तिर खोलिएका दर्जनौं औषधी पसलमा खुलेआम ‘फर्मूला’ नाम दिएर औषधी भन्दै युवाहरुलाई लागू औषध विक्रि वितरण भईरहेको छ । विभिन्न औषधी मिसाएर लागूऔषध बनाउने विधिलाई प्रयोगकर्ता ‘फर्मूला’ भन्छन् । धरानका धेरै लागूऔषध प्रयोगकर्ता स्थानीय मेडिकलबाटै लागूऔषध खरिद गर्छन् ।

 

ती औषधी पसलहरुमा मोर्फिम सल्फेट, पेथिडाइन, फेन्टान्ली सिट्रेट, क्लोनाजेपाम, अल्प्राजोलाम, कोडिन फोस्फेट, जोल्पिडेम (उच्च पेन किलर) डाक्टरको सिफारिस विना खुलेआम विक्रि भईरहेको छ । कोरेक्स नाईट्रोजेपाम, फेन्सिडिल नेपालमा प्रतिबन्धित औषधी हो ।

त्यस्ता लागूऔषधहरु भारतीय बजार जोगवनीबाट एजेण्टमार्फत धरानका मेडिकल सञ्चालकहरुले सेटिङमा सहजै भित्र्याउने गरेका छन् । लागूऔषध विक्रि गर्ने मेडिकलहरुमा अनिता मेडिकल हल, पञ्चकुमारी फार्मेसी, शिब फार्मेसी, धरान–८ साम्पाङ चोकको शम्भु फार्मेसी, धरान–१५ को शना मेडिकल हल रहेका छन् । यी मेडिकलहरुबाट दिन दहाडै लागू औषध खुलेआम विक्रि भएको स्रोतको दावि छ ।

कतिपय लागूऔषध जन्य औषधीहरु चिकित्सकको सिफारिसमा दिनुपर्ने भएपनि यी मेडिकलहरुले खुलेआम विक्रि वितरण गरेको धरान–१८ का ज्ञानमणी राईले बताए । उनले साँझको समय ती औषधी पसलेहरुले त्यस्ता लागूऔषध विक्रि गर्ने गरेको जिकिर गरे । ‘प्रहरीले पहिलापनि छापामार्दा यहाँका मेडिकलहरुले लागूऔषध विक्रि गरेको पाईएको हो, डाक्टरको पुर्जि विना त्यस्ता औषधि दिँन पाईन्न तर, यहाँ दिउसै दिईन्छ ।’ उनले भने ।

अनिता मेडिकल हलमा काम गर्ने एक युवाले डाक्टरको पुर्जि र पुर्जिको फोटोकपी ल्याएर कोहि आए त्यस्ता औषधीहरु दिने गरेको बताए । ‘त्यसरी जथाभावी त दिएका छैनौं, डाक्टरकै पुर्जि, त्यो नभए पुर्जिको फोटोकपी भएपनि ल्याउनु भनेका छौं ।’ उनले भने–‘माग्न आउँछन्, डाक्टरलाई सोधेर खाएको भन्छन्, कसरी नदिनु !’

उनको मेडिकलमा युवादेखि प्रौढसम्म लागू औषध किन्न आउँछन् । ‘केटाकेटी मात्र हैन, टाईसुट लाएका ठूला मान्छे पनि आउँछन्, अब डाक्टरले नै खानु भनेको भनेपछि नदिने कुरा भएन ।’ उनले भने । मेडिकल सञ्चालक पंकज गुप्ताले विरामीले डाक्टरको सिफारिस सँगै डाक्टरको एनएमसीको लाईसेन्स नम्बर समेत लिएर ती औषधी दिने गरेको जिकिर गरे । ‘मेरोमा त्यस्ता औषधी राख्ने छुट्टै लकर छ, डाक्टरको सहि छाप भएकालाई मात्र दिन्छु ।’ उनले भने । तर, स्रोत भने अनिता मेडिकलले खुलेआम लागूऔषध विक्रि गरेको दावि गर्छ ।

यस्तै पञ्चकुमारी फार्मेसीले समेत लागूऔषध विक्रि गर्ने गरेको छ । पञ्चकुमारीका सञ्चालक धिरेन्द्र कुमार मण्डलले विरामीले डाक्टरको प्रेस्कीप्सन ल्याएको अवस्थामा मात्र दिने गरेको जिकिर गरेपनि स्रोतका अनुसार उनले खुलेआम लागू औषध विक्रि गर्छन् । उनले सप्तरी राजविराजको भारतीय सिमा क्षेत्रबाट समेत एजेण्ट मार्फत लागू औषध खरिद गर्ने गरेका छन् । उनले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केहि विद्यार्थीलाई समेत सप्लाई गर्ने गरेका छन् । लागू औषध विक्रि गर्नुहुन्छ रे ? भन्ने प्रश्नमा मण्डलले आफुलाई लागू औषधको बारेमा केहि थाहा नभएको बताए । ‘कसले भन्यो तपाईलाई यस्तो कुरा मलाई त लागूऔषध के हो त्यो नै थाहा छैन ।’ उनले मकालु खबरलाई टेलिफोन सम्पर्कमा भने ।

वीपी काेर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत कतिपय डाक्टर र विद्यार्थी नै लागू अाैषध काराेबारमा संलग्न छन् । पछिल्लाे समय इलाका प्रहरी कार्यालयकाे टाेलीले प्रतिष्ठानकाे हाेस्टलबाटै लागूअाैषध काराेबारी र एक चिकित्सकलार्इ पक्राउ गरेबाट पुष्टि हुन्छ ।

धरान–८ साम्पाङ चोकमा छ, शम्भु फार्मेसी । यसका सञ्चालक हुन्, शम्भु विश्वकर्मा । यहाँबाट पनि लागूऔषध विक्रि हुन्छ । सिरिञ्ज, नाईट्रोजेपान, फेन्सिडिल जस्ता लागू औषध खुलेआम विक्रि हुन्छ । यो मेडिकलमा लागू औषध विक्रि गरेको भन्दै विगतमा प्रहरी प्रशासनले समेत छापा मारेको थियो । तर, कारवाही भएन । मेडिकल सञ्चालक शम्भु विश्वकर्माले विगतमा लागू औषध विक्रि गरेपनि १ वर्ष यता विक्रि नगरेको बताए । उनले आफुले १ वर्ष अघिमात्र मेडिकल किनेको जिकिर गर्दै भने, ‘मैले किन्नु अगाडी त बेच्थ्यो रे, तर, अहिले छैन ।’

धरान–१५ मिलन चोकको शना मेडिकल हलबाट समेत खुलेआम लागू औषध विक्रि हुन्छ । केहि दिनअघि यसका सञ्चालक हैदरअली खान आफ्नै महिला स्टाफलाई यौन दुब्र्यहार गर्दा प्रहरीसम्म पुगे । स्रोतले दिएको जानकारी अनुसार यीनको मेडिकल औषधी ब्यवस्था विभागमा दर्ता समेत छैन, भने, जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति लिएर क्लिनिक सञ्चालन गर्नुपर्नेमा त्यो पनि गरेका छैनन् ।

 इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले धरानका मेडिकल पसलहरुले लागू औषध विक्रि गरेको जानकारीमा आए तुरुन्त छापा मारी कारवाहीको दायरामा ल्याउने बताए । ‘कुनै मेडिकल हलले त्यस्तो गरे कारवाहीको लागि तयार छु, केहि समयअघि श्याम मेडिकललाई मैले नै छापा मारेको हुँ ।’ उनले मकालु खबरसँग टेलिफोन सम्पर्कमा भने । ‘तपाई मलाई त्यस्ता मेडिकलको नाम दिनुस् म अनुसन्धान गरी कारवाही गर्न तयार छु ।’ उनले भने ।

नशा लाग्ने लागूऔषध विक्रि वितरण गर्न डाक्टरको स्वीकृति चाहिन्छ । तर, धरानका अधिकांश मेडिकलहरुले डाक्टरको सिफारिस विना लागूऔषध विक्रि गर्छन् । औषधि ऐनअनुसार व्यवसायीले त्यस्ता औषधि बिक्रीगर्दा चिकित्सकको सिफारिस, बिरामीको रोग र कसले कसलाई कुन प्रयोजनका लागि बेचिएको भन्ने रेकर्डसमेत अनिवार्य रुपमा राख्नुपर्छ ।

विभागले त्यस्ता औषधि बेच्ने/नबेच्ने दुवैको प्रमाणपत्रमा छाप लगाउने काम गर्दछ । बेच्नेलाई बेच्ने र नबेच्नेलाई नबेच्ने भन्ने छाप लगाउने गर्दछ । धरानका मेडिकल पसलमा भएका त्यस्ता औषधीमा छाप समेत देखिँदैन । विभागबाट छाप नलगाएका यस्ता औषधी सिमावर्ती भारतिय बजारबाट चोर बाटो हुँदै आएका हुन् ।

औषधी ब्यवस्था विभाग विराटनगरकी प्रमुख आशा थापाले ऐनअनुसार पूर्वाञ्चलमा खोलिएका अधिकांश मेडिकल पसलले लागूऔषध विक्रिको रेकर्ड नराख्ने गरेको बताईन् । विभागले नियमित रुपमा मेडिकलहरुको अनुगमन गर्दा सयमा १ प्रतिशतले मात्र रेकर्ड राखेको भेटिएको बताईन् । ‘लागू औषध विक्रि गरेको स्पष्ट लगत राख्नुपर्छ, तर, यहाँका ९९ प्रतिशत मेडिकलले रेकर्ड राखेका छैनन् ।’ उनले भनिन् ।

थापाका अनुसार विभागले रेकर्ड नराख्ने मेडिकलहरुलाई स्पष्टरुपमा कारवाही गर्न नसक्ने भएकोले उन्मुक्ति पाएका हुन् । ‘हामीसँग उनीहरुलाई आवश्यक कारवाही गर्न सक्ने ब्यवस्था नहुँदा समस्या आएको हो, हामीले नसिहत दिने, सचेत गराउने तथा रेकर्ड राख्न सिकाउने वाहेक अरु कारवाही गर्न सक्दैनौं ।’ उनले भनिन् ।

चिकित्सकहरुका अनुसार लागूऔषधहरु अत्यन्त संबेदनशील ‘ख’ बर्ग का हुन्, जुन मात्रा नमिलेको खण्डमा ज्यान समेत जाने गर्दछ । तर लागूऔषध प्रयोगकर्ताहरुले यी अाैषधीहरूलार्इ बिभिन्न कम्पोजिसन मिलाएर सेवन गर्ने गरेका छन् । हिरोइन कोकिन जस्ता महंगा लागू औषध पहुँच बाहिर भएपछि मेडिकलहरुमा सहजै उपलब्ध हुने औषधिहरुको कम्पोजिन मिलाएर लागुऔषधको रुपमा प्रयोग गर्ने नेपाली युवा जमातहरु बढ्दो छ । त्यसैले यसको नियन्त्रणका लागि मेडिकलहरुले विक्री वितरण गर्ने औषधिमा कडा निरानी र अनुगमन गर्न आवश्यक छ ।

१६ जिल्ला हेर्न ६ जना

अाैषधि ब्यवस्था विभाग कति कमजाेर र लाचार छ, यहाँबाट प्रष्ट हुन्छ । पूर्वाञ्चलमा मात्रै ४ देखि ७ हजारको हाराहारीमा विभागमा दर्ता भएर चलेका मेडिकल सञ्चालनमा छन् । दर्ता नै नभर्इकन सञ्चालनमा रहेका मेडिकल पनि त्यत्तिकै छन् । पूर्वाञ्चलको १६ जिल्ला हेर्नका लागि औषधी ब्यवस्था विभागको क्षेत्रिय कार्यालय विराटनगरमा प्रमुखसहित ६ जनाको टोली छ । यी ६ जनाले १६ अाेटा जिल्ला अनुगमन गर्न सक्ने अवस्था छैन । ‘ पहिलाकाे अवस्था त भयावह थियाे । अहिले केहि सुधार भएकाे हाे । हामीसँग जनशक्ति कम भएरपनि अनुगमन कमजोर भएको छ । सप्तरी, सिराहा जस्ता जिल्लाका अधिकांश मेडिकल  पसल दर्ता नै नभईकन सञ्चालित छन् । तिनलार्इ कानुनी दायरामा ल्याउन अावश्यक छ ।’ कार्यालय प्रमुख आशा थापाले भनिन् ।

उनका अनुसार पूर्वाञ्चलमा दर्ता नभई सञ्चालनमा आएका मेडिकल पसलको संख्या ४ देखि ७ हजारकै हाराहारीमा छ । तिनलार्इ कानुनी दायरामा ल्याउने हाे भने, धेरै सुधार हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *