सुनमाया बुढा माउन्ट गोवालिगोङ अल्ट्रा ५५ किलोमिटर म्याराथनमा प्रथम

काठमाडौं, फागुन २७ । नेपालकी सुनमाया बुढा चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा प्रथम भएकी छन् ।

विभिन्न राष्ट्रका दुई सय ९३ जनाको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको थियो ।म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट सुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए । सुनमाया जुम्लाको पातारासी गाउँपालिका पेरेकी हुन् । उनले कर्णाली स्पोर्टस् क्लबमा आबद्ध भई प्रशिक्षण लिँदै आएकी छन् । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार चीनमा प्रथम भएकी सुनमाया सम्भावना बोकेकी खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *