नागरिकहरुको गुनासो सुन्न अब गृह मन्त्रालयको टोल फ्रि नम्बर


“
काठमाडौं, असार २६ । गृह मन्त्रालयले नागरिकहरुको गुनासो सुनुवाइ गर्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बरको व्यवस्था गरेको छ । गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्न मन्त्रालयमै १११२ टोल फ्रि नम्बर व्यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरेनगरेको जानकारी लिने र बदमासी भए तत्काल कारबाही गर्ने गरी मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गर्नुपरेको पनि मन्त्री शर्माले स्पष्ट पारे ।
टोल फ्रि नम्बर सेवाको उद्घाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाइ गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए ।
“
