रेशम चौधरीलाई काठमाडौं ल्याएर उपचार गराउन गृहमन्त्रीको निर्देशन

फागुन २६, कैलाली । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित रेशम चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौं ल्याएर उपचार गराउन निर्देशन दिएका छन्।

टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जनासँगै विभिन्न माग राख्दै जेलभित्रै अनशन बसेको रेशमको स्वास्थ्य अवस्था नाजुक भएपछि बादलले काठमाडौं ल्याएर उपचार गर्न गृह सचिव मोहनकृष्ण सापकोटालाई निर्देशन दिएका हुन्।

अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको वीर अस्पताल पठाउन लागेको डिएसपी सागर बोहोराले बताए। बुद्ध एयरको विमानबाट काठमाडौं पठाउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बोहोराले जानकारी दिए।

उनीहरुले राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेका चौधरीलाई प्रतिनिधि सभामा निवार्चित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने भन्दै एक साताअघिदेखि चौधरीले हिरासतभित्रै आमरण अनशनमा सुरू गरेका थिए।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यले शनिवार गृह मन्त्री रामबहादुर थापालाई भेटेर चौधरीको माग पूरा गर्न ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *