नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित

फागुन २४, काठमाण्डौ । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । यसअघि पहिलो खेलमा जिम्बाब्बेसँग हारेको नेपालले आजको खेलमा स्कटल्याण्डसँग पराजित भएको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर प्रदर्शन गरेको थियो । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

नेपालले दिएको १५० रनको सामान्य लक्ष्य स्कटल्याण्डले ४१.३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । स्कटल्याण्डलाई ४ विकेटको जित दिलाउँदा कप्तान केल कोत्जरले नटआउट ८८ रनको योगदान गरे । ओपनिङ गरेका कोत्जरले १३६ बल खेल्दै ७ चौका र ३ छक्का समेत प्रहार गरे ।

नेपाली बलरहरु बसन्त रेग्मी र सन्दिप लामिछानेले दुईदुई तथा दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए पनि जिताउन सकेनन् । कप्तान पारस खड्काले ६३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले निकै कमजोर प्रदर्शन गरे ।

ओपनर ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका थिए भने अर्का ओपनर दिलिपनाथले पनि चार रन मात्रै जोडे । त्यसै गरी दिपेन्द्र ऐरी एक रन मात्रै ल्याए भने भरपर्दा ब्याट्सम्यान भनिएका शरद भेषवाकर शुन्य रनमा आउट भएका थिए ।

अरिफ सेख पनि दुई रनमै आउट भए । सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रनमा आउट भए । बसन्त रेग्मी २४ रनमा अविजित रहे पनि सम्मानजनक योगफल हुन सकेन ।

सन्दिप लामिछानेले ६ र ललित राजवंशीले चार रन जोडेका थिए । नेपाललाई कम स्कोरमा रोक्न सुरुवातदेखि नै उत्कृष्ट बलिङ गरेको स्कटल्याण्डका बलरले विकेट पनि निरन्तर लिए। यसअघिका दुघ खेल नखेलेपनि नेपाल विरुद्ध स्टुअर्ट ह्विलिङटनले राम्रो बलिङ गरे ।

उनले १० ओभर बलिङ गर्दा ३५ रन खर्चेर नेपालको ३ विकेट लिए। यस्तै ८ ओभर बलिङ गरेका सरिफले २ मेडन राख्दै २१ रन मात्र खर्चेर २ विकेट हात पारे। एलासदाइर इभान्सले ८.४ ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर २ विकेट नै लिए ।

स्कटिस बलरले नेपालका खेलाडीलाई छक्का हान्न समेत दिएनन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *