सभामुखमा महरा निर्विरोध

काठमाडौं, फागुन २५ । प्रतिनिधि सभाको सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएन । सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे ।
सभामुखमा महरा निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि बस्ने संसद बैठकबाट मात्रै गरिने बताइएको छ । संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमका अनुसार शनिबार बस्ने संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि संघीय संसदले सभामुख पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउने र बैठकको अध्यक्षता गरेका व्यक्तिले निर्विरोध भएको घोषणा गर्नेछन् ।

वाम गठबन्धनबीचको सहमति अनुसार महरा माओवादीका तर्फबाट सभामुखको उम्मेदवार बनेका हुन् । सभामुखका लागि शनिबार संसदमा मतदानको कार्यतालिका भएपनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उक्त नाम निर्वाचित भएको घोषणा गरिने छ ।

संविधान जारी भएपछिको पहिलो जननिर्वाचित संसदको पहिलो सभामुखमा बन्न लागेका महरा वाम गठबन्धनको तर्फबाट दाङ– २ बाट उम्मेदवार बनेर ४० हजार ४२ मतका साथ १४ हजार १ सय ४५ को अग्रतामा विजयी भएका हुन् ।

चुनावपछि पार्टी एकता गर्ने उद्घोषका साथ घोषणा गरिएको वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँड हुँदा माओवादी केन्द्रको भागमा सभामुख परेको हो । माओवादी केन्द्रमै करीव आधा दर्जन नेताहरु सभामुख पदका लागि आकांक्षी भए तापनि अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को चाहना महरालाई सभामुख बनाउने देखिएपछि माओवादी केन्द्रले महरालाई नै सभामुखमा पठाउने औपचारिक निर्णय शुक्रवार बिहान गरेको हो ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएका महराले उनले २०६४ मा भएको संविधानसभा निर्वाचनमा दाङ– ३ बाट अत्यधिक मतले जीत हात परेका थिए भने दोस्रोपटक भएको संविधानसभा निर्वाचनमा रोल्पा– २ बाट फेरि विजयी भए । प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा पुनः दाङ २ बाट उम्मेदवारी दिएका महरा भारी मतान्तरले विजयी भए । २०४८ सालमा उनीसँगै प्रतिनिधिसभामा विजयी हुने ९ जना सांसदमध्ये अहिलेसम्म निरन्तर जीत हात पार्ने नेता हुन् महरा ।

उनी यसअघि पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *