मिर्गौला बिग्रिए के गर्ने ?

काठमाडौं, फागुन २५ । यसकारण मिर्गौला खराब
चिनीरोग र उच्च रक्तचापले मिर्गौला खराब गर्न सहयोगी भूमिका खेल्छ । त्यसैले यसबाट बच्न पनि सावधानीको जरुरत पर्छ ।
मिर्गौलामा इन्फेक्सन भएको अवस्थामा पनि दुवै मिर्गौला बिग्रने सम्भावना हुन्छ । खासगरी पिसाब वा मिर्गौलामा भएका विभिन्न समस्याले इन्फेक्सन हुने गर्छ । कतिपय ब्याक्टेरियाका कारण पनि इन्फेक्सन हुने गर्छ ।

पानी कम खाने, पिसाब रोक्ने, मधुमेहका रोगी, महिला मिर्गौला रोगको खतरामा हुन्छन् ।

डा.नवीनबहादुर बस्नेत, मिर्गौला रोग विशेषज्ञ

यसरी गरिन्छ डायलोसिस
दुवै मिर्गौलाले काम गर्न छाडेपछि कृत्रिम डाइलोसिस गर्नुपर्ने हुन्छ । मिर्गौलाको काम रगत सफा गर्ने हो । यसले रगतमा भएको विकार पदार्थलाई पिसाबका माध्यमबाट बाहिर निकाल्ने काम गर्छ । यद्यपि, एउटा मिर्गौलाले पनि राम्रोसँग काम गर्न सक्छ ।

दुई प्रकारबाट डायलोसिस गरिन्छ, एउटा पेटबाट र अर्को मेसिनबाट । नेपालमा मेसिनबाट हुने डायलोसिस प्रचलनमा छ । मिर्गौलामा मात्रै समस्या हुने व्यक्तिले हप्तामा दुईपटक मात्र डायलोसिस गर्दा हुन्छ । तर पिसाबमा, मुटुमा समस्या भएका र उच्च रक्तचापका बिरामीले भने आवश्यकताअनुसार हप्तामा ३–४ पकटसम्म डायलोसिस गराइन्छ । डायलोसिस गर्दा बिरामीलाई मेसिनमा जोडिन्छ । जुन मेसिनमा दुईवटा सियो हुन्छन् । एउटा सियोले रगत सफा गर्छ भने अर्कोले रगतमा भएको फोहोर पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यो प्रक्रिया कम्तीमा चार घन्टासम्म गर्नुपर्छ । मेसिनले १ मिनेटमा ३ सय एमएल रगत छान्ने काम गर्छ ।

पेटबाट हुने डायलोसिस भने घरमा स्वयं बिरामीले पनि गर्न सकिन्छ । विशेषगरी ग्रामीण भेगका मानिसले यस्तो प्रकारको डायलोसिसको सहारा लिन्छन् । यस्तो डायलोसिस गर्न पेटमा सामान्य अप्रेसन गरी पाइप जडान गरिएको हुन्छ । तर, यस्तो प्रकृतिको अप्रेसन गर्दा बिरामीलाई बेहोस भने पारिँदैन । यसरी डाइलोसिस गर्दा पाइपबाट पेटमा दुई लिटर पानी हालिन्छ । पानी राख्न करिब आधा घन्टा समय लाग्छ । त्यसपछि बाहिरबाट पाइपको बिर्को बन्द गरिन्छ । यस्तो पानी ६ घन्टासम्म पेटमा राख्नुपर्ने हुन्छ, जसले रगत सफा गर्ने काम गर्छ । पानी आन्द्राको वरिपरि हुन्छ । यस्तो प्रक्रिया दिनको तीनपटकसम्म गर्नुपर्ने हुन्छ । पेटमा पानी राखेको अवस्थामा पनि बिरामीले आफ्नो नियमित कामचाहिँ गर्न सक्छन् ।

उपचार विधि
मिर्गौला फेल भएपछि दुई प्रकारले यसको उपचार गर्न सकिन्छ । एउटा मिर्गौला प्रत्यारोपण र अर्को डायलोसिस । तर, डायलोसिस भने अल्पकालीन उपचार मात्र हो । त्यसैले मिर्गौला बिग्रेपछि प्रत्यारोपणमा नै केन्द्रित हुन जरुरी हुन्छ ।

मिर्गौला चरण–चरणमा बिग्रँदै जाने समस्या हुन्छ । मिर्गौलामा दुई प्रकारका समस्या देखा पर्छन् । एउटा समस्या उपचारपछि निको हुन्छ भने अर्कोचाहिँ उपचारपछि पनि निको हुन सक्दैन । त्यस्तो अवस्थामा मानिसमा प्रत्यारोपणको विकल्प हुँदैन ।

आजीवन औषधि
कुनै पनि व्यक्तिको दुवै मिर्गौलाले पूर्ण रूपमा काम गर्न छाडेपछि मिर्गौला परिवर्तन गर्नु नै प्रत्यारोपण हो । तर, मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले आजीवन औषधिको सहारा भने लिनुपर्छ । किनभने, हाम्रो शरीरमा अरूको अंग पूर्ण रूपमा फिट हुन सक्दैन । त्यसैले अरूको मिर्गौला पनि शरीरले सजिलै राख्न मान्दैन । शरीरमा हुने प्रतिरोधात्मक क्षमताले गर्दा नयाँ मिर्गौला बिगार्छ । यसर्थ, मिर्गौलाको सुरक्षाका लागि आजीवन औषधि सेवन गर्नुपर्छ ।

मिर्गौला बचाउन

ऋषिकुमार काफ्ले, मिर्गौला रोग विशेषज्ञ

शारीरिक व्यायाम
मिर्गौलामा रोग लाग्न नदिन शारीरिक व्यायाममा ध्यान दिन जरुरी हुन्छ । यसका लागि मर्निङवाक, जिम, प्राणायाम, योग, खेलकुदजस्ता गतिविधि गर्न सकिन्छ ।

जीवनशैली
स्वस्थ रहन जीवनशैली पनि स्वस्थ हुनुपर्छ । अस्वस्थकर खानाकै कारण पनि मिर्गौला बिग्रने समस्या हुन्छ । मिर्गौलाको समस्याबाट बच्नका लागि कहिल्यै चुरोट सेवन गर्नुहुँदैन । रातो मासु खाने व्यक्तिमा पनि मिर्गौलाको समस्या देखिने विभिन्न अनुसन्धानले देखिएको छ । हामीकहाँ विशेषगरी खराब आहारकै कारण मिर्गौला रोगीको संख्या बढिरहेको छ । फास्टफुड र जंकफुडले पनि मिर्गौला बिगार्छ । त्यसैले स्वस्थकर खानाको नियमित प्रयोग जरुरी छ ।

पानी पिउने
पानी कम पिउने मानिसमा मिर्गौलामा समस्या देखिन्छ । स्वास्थ्यका लागि दैनिक करिब तीन लिटर पानी आवश्यक हुन्छ । योभन्दा कम पानी पिउने मानिसको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्छ । पानीको कमी भए/नभएकोबारेमा पिसाब हेरेर पनि थाहा पाउन सकिन्छ । सफा पिसाब छ भने पानीको मात्रा ठिक्क छ भन्ने बुझ्नुपर्छ । यदि पिसाब सफा छैन भने पानीको मात्रा कम भएको बुझ्नुपर्ने हुन्छ ।

३० वर्षपछि चेकअप
३० वर्ष नाघेका मानिसले वर्षमा कम्तीमा एकपटक मिर्गौलाको जाँच गराउनु जरुरी हुन्छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या हुने व्यक्तिहरूका लागि त यस्तो जाँच अनिवार्य नै हुन्छ । अाजकाे नयाँ पत्रिकामा छ ।

पेनकिलर नखाने
एन्टिबायोटिक र दुखाइ कम गर्ने पेनकिलरले पनि मिर्गौला बिगार्छ । सामान्य दुखाइमा पनि पेनकिलरको प्रयोग गर्दा मिर्गौलामा असर पुग्छ । त्यसैले यस्तो औषधि सेवन गर्दा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *