राष्ट्रपति पद, पात्र र प्रवृत्ति !

वैज्ञानिक एपीजे अब्दुल कलाम सन् २००२ मा भारतको एघारौँ राष्ट्रपति निर्वाचित भए । प्रतिष्ठित इन्जिनियर तथा परमाणु वैज्ञानिक कलामलाई राष्ट्रपति बनाउन त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी र विपक्षी काँग्रेस आई दुवै दलको समर्थन थियो । पाँच वर्षसम्म राष्ट्रपतिको निर्विवाद भूमिका निभाएका अब्दुल कलाम पदबाट हटिसकेपछि पनि सामाजिक गतिविधिमा उस्तै संलग्न छन् । आफ्नो विद्धताको प्रयोग उनले उसैगरी गरिरहेका छन् र भारतीय जनताबाट अहिले पनि त्यत्तिकै सम्मानित छन् ।

भारतकै जस्तो नेपालमा पनि ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ स्थापना गरिएको छ । यति बेला नेपालले पनि दुईवटा राष्ट्रपति ब्यहोरिसकेको छ र तेस्रो राष्ट्रपतिका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । तर, गणतन्त्र स्थापना भएको दश वर्ष वितिसकेपनि हामीकहाँ राष्ट्रपति पदको मर्यादा र गरिमा कायम राख्नै सकेको देखिँदैन । बरु पछिल्लो पटक राष्ट्रपतिका लागि जुन तरिकाबाट पात्र छनौट गरिएको छ, त्यसले त राष्ट्रपति पदकै खिल्ली उडाएको छ ।

दलीय व्यवस्थाको खराब पक्ष के हो भने संसद्मा बहुमत प्राप्त दल वा गठबन्धनका तर्फबाट अगाडी सारिएका व्यक्ति नै निर्वाचित हुने निश्चित हुन्छ । त्यहाँ सांसदहरूको आफ्नो विवेकको कुनै अर्थ हुँदैन । दलीय ह्विप नै निर्णायक हुन्छ । सोही कारण अब आगामी दोस्रो कार्यकाल पनि राष्ट्रपति पदमा विद्या भण्डारी नै निर्वाचित हुने लगभग पक्का छ ।

यद्यपि राष्ट्रपति पदमा कुन व्यक्ति आउनुपर्छ भन्ने कुरा बहस गर्नुको कुनै अर्थ छैन । किनभने राष्ट्रपति चुन्ने अधिकार जनतासँग छैन । संसद्मा बहुमत प्राप्त दलले निर्णय गर्ने हुँदा स्वयम् त्यो दलले नै विवेक पुर्याउनुपर्छ । निर्वाचित व्यक्ति मन परे पनि नपरे पनि जनताले स्वीकार गर्नुको विकल्प छैन । तैपनि राष्ट्रपति जस्तो साझा र गरिमामय पदमा निर्वाचित हुने व्यक्तिबारे आम चासो रहनु स्वाभाविक हो ।                                                               

आगामी कार्यकालका लागि पुनः विद्या भण्डारीलाई नै दाहोर्याउने सम्बन्धित पार्टीले निर्णय गरिसकेको छ र उम्मेदवारी दर्ता समेत भइसकेको छ । यस अघि भण्डारीले आफ्नो पहिलो कार्यकाल करिब पुरा गरिसकेकी छन् । उनको पहिलो कार्यकाल कस्तो रह्यो, त्यसबारे आम रूपमा समीक्षा हुनुपर्दथ्यो । तर, भण्डारीको पहिलो कार्यकाल बारे आम समीक्षा त परको कुरा, सम्बन्धित दलमै त्यसबारे पर्याप्त छलफल हुन पाएन । जसरी हठात् मध्य रातमा एमाले पार्टी स्थायी कमिटीको बैठकमा तनावका बिच भण्डारीको नाममा निर्णय गरियो, त्यो घटनाले नै राष्ट्रपति पदलाई कति हलुङ्गो विषय बनाइएको रहेछ भन्ने स्पष्ट हुन्छ ।

स्वयम् एमालेकै उपल्लो तहका नेताहरूले शीतल निवासमा बसेर गुट चलाइरहेको आरोप भण्डारीमाथि लगाएका छन् । राष्ट्रपति पद राजनीतिक दलभन्दा माथि मर्यादित स्थानमा हुनुपर्नेमा विद्यादेवी भण्डारी कतिपय राष्ट्रिय ईश्युहरुमा जसरी प्रस्तुत भइन् उनी एमाले कार्यकर्ताको हैसियतबाट माथि उठ्न सकिनन् । खास गरी उनले तत्कालीन देउवा सरकारले सिफारिस गरी पठाएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशलाई लामो समयसम्म रोकेर राखिन् । त्यो अध्यादेश रोक्नुको कुनै अर्थ थिएन । उनले पछि बाध्यतावश त्यो अध्यादेश प्रमाणिकरण गर्नुपर्यो र त्यसैका आधारमा राष्ट्रिय सभा निर्वाचन भयो । त्यसपछि पनि उनले देउवा सरकारद्धारा राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गरिएका तीन जना उम्मेदवारको नाम लामो समयसम्म अड्काएर राखिन् । तर, जब केपी ओली नेतृत्वमा सरकार गठन भयो, त्यो सरकारले सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल मनोनीत गरिन् ।

यस्तै, उनले प्रधानमन्त्री नियुक्तिका क्रममा जुन अपरिपक्वता र हतारो प्रदर्शन गरिन् । त्यसले बिदाइ हुँदै गरेका प्रधानमन्त्रीप्रति अमर्यादित व्यवहार गरेको स्पष्ट देखिन्थ्यो । गत फागुन ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेर शीतल निवासमा राजीनामा पत्र राष्ट्रपतिलाई बुझाउन मात्र के भ्याएका थिए, राष्ट्रपतिलाई भेट्न पहिल्यै आइपुगेका एमाले अध्यक्ष केपी ओलीलाई उनले प्रधानमन्त्री पदमा नियुक्त गरेको पत्र थमाइहालिन् । जुन पत्रमा एक वर्ष अगाडीको मिति राखेर गम्भीर गल्ती गरिएको थियो । ओली प्रधानमन्त्री पदमा नियुक्त हुने पक्का नै थियो । त्यसलाई केही दिनको समय दिएर विधिवत् प्रक्रियामा लगेको भए पनि ओली नै प्रधानमन्त्री हुन्थे । तर, राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री बनाउन जुन हतारो देखाइन्, त्यसले न प्रधानमन्त्री पदको मर्यादा कायम रह्यो, न त राष्ट्रपति पदको गरिमा नै जोगियो ।

श्रीमती विद्यादेवी भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीको योगदानको बुई चढेर राष्ट्रपति जस्तो उच्च पदमा विराजमान भएकी हुन् भन्ने कुरा दिनको घाम जत्तिकै छर्लंङ्ग छ । अन्यथा उनी आफ्नो क्षमता, योग्यताले यो पदमा पुग्ने सम्भावना नै थिएन । त्यसअघि पनि उनी रक्षामन्त्री बनेकी थिइन् । एमालेको शक्तिशाली उपाध्यक्ष भएकी पनि हुन् । तर, तत्कालीन अवस्थामा हत्या भएको विश्वास गरिएका नेता मदन भण्डारीको हत्याबारे उनले चासो राखेको सार्वजनिक जानकारी छैन । मदन भण्डारी र जीवराज आश्रीतको दासढुंगामा भएको दुर्घटना ‘षडयन्त्र पूर्वक गरिएको हत्या’ थियो भन्ने ठोकुवा एमालेले नै गरेको थियो । यद्यपि यो विषयमा एमाले पुरै मौन छ । मदन भण्डारीको मृत्युपछि एमालेका चारजना नेता प्रधानमन्त्री भइसकेका छन्, वर्तमान प्रधानमन्त्री केपी ओलीको यो दोस्रो कार्यकाल हो । २०५१ सालयता एमाले पटक–पटक सत्तामा पुगेको छ भने २०६३ साल यता त करिब एक वर्षको अवधिबाहेक एमाले सधैँ सत्तामै छ । तर, मदन भण्डारीको मृत्युबारे एमालेले देखाएको मौनता उनको हत्या भन्दा पनि बढी रहस्यमयी छ ।

राष्ट्रपति जस्तो गरिमामय पदलाई त्यो पदमा पुग्ने र पुर्‍याउने दुवैले हलुङ्गो विषय बनाएका छन् । कुरा पात्रको पनि हो र प्रवृत्तिको पनि हो । अमेरिका जस्तो शक्तिशाली राष्ट्रका कार्यकारी प्रमुख राष्ट्रपति बनिसकेका बाराक ओबामा यति बेला एउटा निजी कम्पनीमा काम गरिरहेका छन् । उनले आफ्नी छोरीको पढाइका लागि खर्च जुटाउन कम्पनीमा काम गर्न लागेको समाचार विभिन्न सञ्चार माध्यमले महत्त्वका साथ प्रसारण गर्दै गर्दा नेपालका प्रथम राष्ट्रपति डा. रावरण यादव भने सरकारले डेराभाडा नतिरिदिएको गुनासो गर्दै थिए । जबकि उनी घरविहिन होइनन्, उनको धनुषामा आफ्नै घर र पुग्दो सम्पत्ति छ । प्रथम राष्ट्रपतिको रुपमा उल्लेख्य भूमिका निर्वाह गरेका डा. यादवले पदबाट हटेपछि देखाएको सम्पत्ति मोहले उनको मात्र होईन राष्ट्रपति पदकै गरिमामा आँच पुर्याउने काम भयो । उनलाई घरधनीले डेरा छाड्न १५ दिने अल्टिमेटम दिएको समाचार नेपाली सञ्चारमाध्यममा आयो । यो घटनाले राष्ट्रपति पदको खिल्ली उडाउने काम गरेको थियो । नेपालमा पूर्व भएका विशिष्ट व्यक्तिहरूका लागि यति धेरै सुविधा दिइएको छ, तैपनि उनीहरू राज्यको ढुकुटीमा आँखा गाडेकै हुन्छन् ।

यी सबै घटनाले राष्ट्रपति जति सम्मानित हुन सक्नुपथ्र्यो, वा बनाइनुपथ्र्यो, त्यसो हुन सकेको छैन । नेपाली नेताहरूले अब्दुल कलम जस्तै सम्मानित व्यक्तिलाई सर्वसम्मत राष्ट्रपति बनाउन सक्थे । राष्ट्रपति बनिसकेका ब्यत्तिले पनि बाराक ओबामा जस्तै पदबाट बाहिर रहेर पनि पदीय मर्यादा जोगाउन सक्थे । तर, त्यसो गरेनन् । केही व्यक्तिहरूको निहित स्वार्थपूर्तिका लागि राष्ट्रपतिको गरिमालाई ओझेलमा पार्ने काम गरिएको छ । के नेपालका नेताहरूले कुनै दिन राष्ट्रपति पदलाई अमेरिका वा भारतका नेताहरूले बनाए जस्तै गरिमामय बनाउन सक्लान् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *