आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, फागुन २४ ।

हार्दिक श्रद्धाञ्जली स्रष्टा राई – कान्तिपुर 

नेपाली भाषा–वाङ्मयमा इन्द्रबहादुर राई (विसं १९८४–२०७४) लाई साहित्यिक प्रयोग, लेखनशिल्प र अति साधारण विषयमा मानवीय संवेदना भरेर लेख्न सक्ने सिद्धहस्त स्रष्टाका रूपमा चिनिने गरेको छ ।

भारतको दार्जिलिङमा जन्मे–हुर्केर नेपाली भाषा साहित्यको वृहत्तर चिन्ता र प्रवद्र्धनमा लागिपरेका स्रष्टा राईले लेखकीय धर्म निर्वाह गर्ने कुरामा नेपाली जाति, सभ्यता, संस्कृति र कठिनाइका मिहिन विषयहरूलाई मात्रै आफ्नो लेखनमा उठाइरहे ।

उनको ९० वर्षको उमेरमा मंगलबार निधन हुँदा केवल एक नेपालीभाषी भारतीय लेखकको निधन भएको नठानी देश–विदेशमा रहेका नेपालीभाषी पाठक तथा शुभेच्छुकहरूले ‘एकजना नेपाली बौद्धिक, प्राज्ञिक र लोकप्रिय लेखक’को युग टुंगिएको अनुभूति गरेका छन् ।

बौद्धिक र प्राज्ञिक धरातलमा उभिएर पनि अति सामान्य जनचासोका विषयलाई सामान्य तवरमै उठाउन सक्ने क्षमता राख्ने साहित्यकार राईको ‘आज रमिता छ’ उपन्यासले पूर्वी नेपालदेखि दार्जिलिङसम्मको जनजीवन र अस्थिर समाजको चित्रलाई उतारेको छ ।

उनका ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’, ‘जार : भएको एउटा कथा’, ‘खिर’, ‘रातभरि हुरी चल्यो’ जस्ता कथाले नेपाली साहित्यमा अति सीमित पृष्ठभूमि र कथासार समातेर पनि कालजयी प्रभाव छाड्न सकेका छन् । नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको परम्परागत शैली र सिर्जनाको लगातारको प्रभाव कायमै रहेका बेला दार्जिलिङवासी आईबी राईले विषयवस्तु, लेखन र शैलीमा समेत पुन:व्याख्या तथा पुन:संरचना भित्र्याएका थिए ।

नेपाली भाषाका साधक र सेवक भएकै कारण राईलाई नेपालबाट प्रतिष्ठित जगदम्बा पुरस्कार दिइएको थियो भने भारतले प्रतिष्ठित साहित्य अकादमी पुरस्कार दिएको थियो । नेपाली भाषा–वाङ्मयको श्रीवृद्धिमा लेखक आईबी राईले दिएको योगदान र नेपाल–भारतका साहित्यिकारबीच उनले बनाएको भावना–संवेदनाको साहित्यिक–पुल सधैंसधैं स्मरणमा आइरहनेछ ।

नेपाल–भारतबीच र विश्वभरका नेपालीभाषी पाठकका बीच प्रिय लेखकको सेतु बनेका इन्द्रबहादुर राईलाई हार्दिक श्रद्धाञ्जली !

प्रतिबद्धता मात्रै – नेपाल समाचारपत्र 

मुलुक नयाँ संरचना र नयाँ सरकारको नेतृत्वका साथ अघि बढिरहेको छ । देश र जनतालाई समृद्ध बनाउन वर्षौंअघिदेखि भएको प्रयास सफल हुन सकेको छैन ।

राजनीतिक दल र ती दलका नेताहरूले वर्षौंअघि पटक–पटक गरेको प्रतिबद्धता पूरा नभएको अवस्थामा फेरि प्रमुख दलका शीर्ष नेताहरूले विगतको गल्ती नदोहोर्याउने भन्दै अब सुशासन र विकासको लागि ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि पनि विगतको गल्ती, कमी–कमजोरी सच्चाएर अघि बढ्ने, दलीय र व्यक्तिगत स्वार्थ त्याग्ने, देश र जनतालाई सर्वोपरि ठानेर अघि बढ्नेजस्ता प्रतिबद्धताहरू पटक–पटक आइरहेका थिए । प्रतिनिधिसभा बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले गरेका यी प्रतिबद्धता पूरा हुनेमा भने आशंका छ ।

विगत तीन दशकको इतिहासलाई हेर्ने हो भने, देश र जनतालाई समृद्ध बनाउने नाममा विभिन्न राजनीतिक परिवर्तन भएका छन् ।

सस्तो र लोकप्रिय भाषणबाजीलाई नै उपलब्धि ठानियो भने देश र जनतालाई समृद्ध बनाउने मूल लक्ष्य प्राप्त हुन सक्दैन । नेताहरूले विगतका प्रतिबद्धता कार्यान्वयन नगर्ने अनि फेरि विगतका कमी–काजोरी हटाएर अघि बढ्छौं भन्दै प्रतिबद्धता व्यक्त गर्ने चलनले देश र जनतालाई समृद्धिको दिशातर्फ अघि लैजान सक्दैन ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : व्यवहार बदलौं – अन्नपुर्ण 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको १०८ औं संस्करण आज विश्वभर मनाइँदैछ। लैंगिक आधारमा मान्छेबीच हुने विभेदविरुद्ध थालिएको यो अभियानले आजसम्म आइपुग्दा संसारलाई महिलामैत्री बनाउन धेरै काम गरेको छ।

तर धर्म, सम्प्रदाय, मूल्य र मान्यताका नाममा सदियौंदेखि लादिएका कतिपय विचार र आदतका कारण यति धेरै संघर्ष र अभियान चलाइँदा पनि महिलाप्रतिको विभेद जारी छ।

महिला आन्दोलनको पहिलो संगठित नेतृत्व गरेकी जर्मन नागरिक क्लारा जेटकिन महिलाको मुक्ति पुँजीवादको ध्वंसमा देख्थिन्।

उनको युगको कुरा थियो त्यो। उनले त्यसो भनेको सय वर्ष नाघिसक्दा पनि पुँजीवादले आफूलाई कतिपय क्षेत्रमा सुधार गरेको छ। समान ज्यालाको माग राखेर आन्दोलन गरेको शताब्दी नाघ्दा पनि कतिपय स्थानमा महिला भएकै कारण ज्यालामा विभेद त छँदैछ, महिलामाथि हुने हिंसा अनेक क्षेत्रमा अनेक रूपमा कायम छन्।

विचार, ज्ञान, ध्यान होस् या भौतिक वस्तु होस्, सबैथोक बेचेर शक्तिशाली हुने यो युगमा पुँजीवादले अनेक नाममा महिलालाई शोषण गरिरहेकै छ। पुँजीवादी उत्पादन प्रणालीले महिलालाई चुलाचौका, खेतबारी र घाँसस्याउलाबाट आज बजारमा ल्याएर उपयोग गरिरहेकै छ ।

शक्ति र सम्पत्तिले आधुनिक समाजमा सिर्जना गरेको विभेद त विश्वव्यापी छँदैछ, तर संसारलाई आँखा देखाउने मातृशक्तिप्रतिको विभेद निर्मूृल पार्न सक्नुपर्छ। लैंगिक समताको विषय महिलाको मात्रै होइन, सबै जागरुक मान्छेको साझा विषय हो। महिलामाथिको विभेद पुरुषका लागि पनि लज्जाको विषय हुँदै हो। विभेद अन्त्यका लागि महिलाको मात्रै होइन, पुरुषको भूमिका उत्तिकै अपेक्षित छ।

अब सम्झनामा मात्र – नयााँ पत्रिका 

नेपाली साहित्यका एकजना चर्चित व्यक्तित्व इन्द्रबहादुर राई अब रहेनन् । मंगलबार दार्जिलिङस्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा उनको निधन भयो । केही वर्षदेखि बिरामी अवस्थामा रहेका राईको मृत्युसँगै नेपाली साहित्यको एउटा बिम्बको अन्त्य भएको छ ।

दार्जिलिङमा जन्मेका राईको साहित्य सिर्जनाको समय भारतीय नेपालीले आफ्नो पहिचानका लागि संघर्ष गरिरहेको समय थियो । उत्तर उपनिवेशकालीन भारतको अल्पसंख्यक समुदायका रूपमा नेपालीले व्यहोरेको अस्तित्व र पहिचानको संघर्ष उनलाई साहित्यमा टिकाइरहने धागो थियो ।

यद्यपि पछिल्लो समय उनी दार्शनिक रूपमा तेस्रो आयाम र लीलालेखनका माध्यमबाट फरक ढंगले आफूलाई अभिव्यक्त गरिरहेका थिए । नेपाली साहित्यको उत्थानमा इन्द्रबहादुर राईको योगदान अतुलनीय छ । उनका केही उपन्यास, कथा र समालोचनाका पुस्तक नेपाली साहित्यका अनिवार्य पाठ्यक्रम बन्न पुगेका छन् ।

उनको ‘आज रमिता छ’ उपन्यासलगायत केही कथासंग्रह नेपाली साहित्यका उत्कृष्ट रचना मानिन्छन् । उनले जहाँ बसेर लेखे पनि पात्रहरूचाहिँ सार्वकालिक थिए । उनका रचनामा मानिसका सहजवृत्ति मात्र या सहज बुद्धिले देखिने मात्र विषय होइन, बरु मानिसका अनेक रूप र अनेक आयामलाई खोतलेर बुझ्न बाध्य पार्ने बौद्धिकता पाइन्छ । उनले नेपाली साहित्यलाई लगाएका गुनहरूको सम्मान गर्न अभैm पुगेको छैन ।

यसैले पछिल्लो पुस्ताको आन्दोलनमुखी दार्जिलिङे सर्जकको समूहले बिस्तारै राईलाई चुनौती दिने गरेको थियो । तर, भाषाको सेवा र साहित्यिक मापदण्डका आधारमा उनलाई भारतीय या दार्जिलिङे नेपाली साहित्य होइन, समग्र नेपालीभाषी समुदायको शीर्ष स्थान दिएको थियो ।

भारतमा पनि उनलाई आफ्नो लेखनका लागि राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाली भाषाका यी अमर साधकलाई हाम्रो पनि श्रद्धाञ्जली !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *