जीवन–तुना (कविता)
२०७४ जेठ १५ गते

“
वस्तुतः
खुसीका सुकोमल अश्रु सिन्धुहरू
बग्दैछन् खड्कुलो र डेक्चीहरूमा
र भरिँदै भरिँदै गइरहेको छ
पीडाको अकल्पनीय भण्डार ।
क्रमशः
बाँच्ने क्रममा जारीछन् मान्छेहरू
आ–आफ्नै शैली, भाषा र परिष्कारबाट
र अनुभूत प्रत्याभूत हुन्छन्
आफैँसित तीतामीठा
अनुभवको संवेष्ठन
जीवनको शब्दकोशमा
पर्याय शब्द खोज्दैछु
तर थाहा छैन
कहाँ छ यो मानव मन ।
जन्म
र मृत्युको दूरीमा अल्झिएको छ
जीवनको तुना
तुना कहिले चुँडिन्छ
तुना कहिले बाँधिन्छ
यसरी नै तुनासँगै अल्झिएको छ
मानव जीवन ।
अन्ततः
कहिले रित्ता भाँडाहरूमा बज्छ
राग ध्वनि
कहिले खुसीका पटकथाहरूमा बज्छ
संवादको अनुक्रमः
कहिले विश्रान्तिको गाथामा
लम्किन्छ
लम्किरहन्छ
आत्मरतिमा यो एक्लो मन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








