मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अाजदेखि शुरु

काठमाडौं, फागुन २२ । फागुन १६ गते बुधबारदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अाजदेखि शुरु हुने भएको छ । काकाकुल उपत्यकावासीको प्यास मेटाउन बहुप्रतीक्षित आयोजनाको २७.५ किमी सुरुङ अन्तिम चरणमा पुगेर पाँच दिनदेखि काम हुन सकेको थिएन ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले सुरुङ निर्माणमा संलग्न कामदारलाई तलब नदिएपछि बुधबारदेखि सिन्धु–ग्याल्थुम खण्डको काम रोकिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।

“निर्माण व्यवसायी कम्पनीले साेमबार तलब दिएको जानकारी आएको छ,  मंगलबार बिहानदेखि काम शुरु हुन्छ, अब मात्र १९० मिटर सुरुङ खन्न बाँकी छ”–उनले भने ।

पाँच दिन काम रोकिएपनि चैत १५ सम्म काम सक्नेगरी सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रक्रिया पु¥याएर ल्याएको बिल भुक्तानी सम्झौतामा उल्लेख भएभन्दा छिटो नै आयोजनाले गर्ने गरेको कार्यकारी निर्देशक देवकोटाले बताए ।

सम्झौतामा बिल भर्पाइ पेश भएको ५६ दिनमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म समयसीमा कटाइएको छैन । यसअघि मुहानस्थल अम्बाथानमा कार्यरत मजदुरले पनि लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए ।

आयोजनाको सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथान सुरुङखण्ड यसअघि नै छिचोलिएको छ । सुरुङ निर्माण सम्पन्न भई आउँदो दशैँ अघि मेलम्चीको पानी राजधानीको धारामा वितरण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *