साझा यातायातमा अब टिकट अनिवार्य, टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही

ललितपुर, फागुन २२ । साझा यातायातले यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो । ‘यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका छन्’, उहाँ भन्नुहुन्छ, ‘यात्रुमा टिकट लिएर मात्र यात्रा  गर्नुपर्छ भन्ने धारणा भइसकेको छैन ।’
यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउनुहुन्छ । ‘टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे÷नतिरेको थाहा हुँदैन । टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ’, उहाँ भन्नुहुन्छ, ‘भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो । पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो ।’
काठमाडौँ महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ साझा यातायातको शेयर किनेका छन् । यी दुवै महानगरपालिकासँग मिलेर नीति निर्माण हुने पाण्डेय बताउनुहुन्छ ।  दुई महानगरपालिकासहित अरु सरकारी निकाय गरेर ९७ प्रतिशत सरकारी लगानीमा साझा यातायात सञ्चालनमा छ ।
साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतीय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *