दश वर्षमा समाजवाद आउँछ, पाँच वर्षमा गरीबी हट्छ : गौतम

काठमाडौं, फागुन २१ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा अब १० वर्षमै समाजवाद आउने दाबी गरेका छन् । वाम गठबन्धनको सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामहरुको मस्यौदा गर्न गठित कार्यदलका संयोजक समेत रहेका गौतमले १० वर्षभित्र नेपालमा समाजवाद आइसक्ने र पाँच वर्षमा गरीबी हटाउने बताएका हुन् ।

१९ वर्षअघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले ले अरु देशले ५० वर्षमा गरेको विकास नेपालले १० वर्षभित्र गरिसक्नुपर्ने बाध्यता रहेको समेत बताए । ‘अब ५ वर्षमा नेपालबाट गरीबी हटाउनेछौं । १० वर्षभित्रमा समाजवाद आउनेछ,’ एमाले उपाध्यक्ष गौतमले भने, ‘हामीसँग समय कम छ । अब धमाधम काम सुरु हुन्छ । अबको ५ वर्षसम्म नेपालका एक करोड मान्छेहरु काम गरिरहेका हुनेछन् । देश निर्माणमा सबैले काम पाउनेछन् । अब कोही विदेशिनु पर्ने छैन ।’

गौतमले जनताको बहुदलीय जनवाद संसारकै उत्कृष्ट विचार भन्दै पार्टी एकता भए पनि आफूले जबज छाड्न नसक्ने प्रष्ट पारे ।

गौतमले अहिलेको पार्टी एकीकरणसम्म आउने आधार पनि एमालेले अंगिकार गरेको जबजले नै तयार पारेको दावी गरे । ‘हुन त अहिले माओवाद र जबजलाई छलफलमा लैजाने निर्णय भएको छ’ गौतमले भने, ‘तर म जबज छाड्न सक्दिन । अरुले छाड्ने हुन् कि भन्ने डर पो लागिरहेको छ ।’

रुसमा समाजवाद असफल भएपछि एमालेले अंगिकार गरेको जबज नै संसारको उत्कृष्ट विचार भएको उनको दाबी छ ।

आफूले कहिल्यै माओवाद र माओवादी जनयुद्धलाई समर्थन नगरेको भन्दै गौतमले माओवादीलाई जबजको लाइनमा ल्याउन खोज्दा आफूलाई एमालेभित्रैबाट माओवादीको आरोप लगाइएको स्मरण गरे ।

एमाले र माओवादी एकीकरणका शुत्राधार मानिएका गौतमले केपी ओली र प्रचण्डलाई तयार पार्न निकै मेहनत गरिएको बताए । ९ वर्षदेखि पार्टी एकीकरणका लागि प्रयास गरे पनि प्रचण्ड र ओली दुवै नेता तयार भएपछि मात्र एकता सम्भव भएको सुनाए ।

एमालेको सफलता नै जबज भएको भन्दै गौतमले माओवादी विस्तारै एमालेको बाटोमा आएको बताए ।

कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले गौतमलाई एमाले माओवादी पार्टी एकीकरणका अभियान्ता भनेर सम्बोधन गरेका थिए ।

यदु स्मृति प्रतिष्ठान र एमाले रुकुम काठमाडौं सम्पर्क मन्चद्धारा आयोजित कार्यक्रममा यदु स्मृति पत्रकारिता पुरस्कार रुकुमका नारायण शाहलाई प्रदान गरिएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *