मोदीखोलामा सातवटा जलविद्युत् आयोजना

पर्वत, फागुन १७ । मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् । हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन रहेका छन् । अन्य तीनवटा आयोजना निर्माणको प्रक्रियामा छन् । पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो ।

सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण शुरु गरेको १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन शुरु गरेको थियो । त्यसैगरी २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजना निर्माणाधीन अवस्थामा छ । तल्लो मोदीको ९५ प्रतिशतभन्दा बढी काम तथा मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।

तल्लो मोदीको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए । मोदीखोलामा पछिल्लो समय विद्युत प्राधिकरणले दुईवटा तथा युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले एउटा आयोजना निर्माण गर्दैछ । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी निर्माण गर्ने प्रक्रिया थालेको छ । युनाइटेड मोदीले १० दशमलव पाँच मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न सर्वसाधारणबाट लगानी जुटाएको थियो ।

प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी निर्माणको काम अघि बढाएको छ । आयोजना प्रमुख सञ्जीवमान राजभण्डारी १० महिनाभित्र डिपीआर तयार हुने बताउँछन् । सातवटा आयोजनाबाट १३० मेगावाट विद्युत् उत्पादन हुने छ । हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निर्माणाधीन १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजनाको लागत अनुमान रु तीन अर्ब रहेको छ भने तल्लो मोदीको निर्माण लागत रु साढे तीन अर्ब अनुमान गरिएको छ । मोदीखोलामा मात्रै जलविद्युत् आयोजनामा कम्तीमा रु २६ अर्ब लगानी हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *