३ सय ३० स्थानीय तहमा एमाले १४८ स्थानमा विजयी

काठमाडौं २४, असार । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३ सय ३० स्थानीय तहको मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।
अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणना अनुसार, नेकपा एमाले १४८, नेपाली कांग्रेस १२१, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेद्वार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् ।
त्यस्तै तीन जना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाम मध्ये प्रमुख/अध्यक्षमा पदमा नेकपा एमालेले सबै भन्दा धेरै अर्थात ४४.८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ । भने, नेपाली कांग्रेसले ३६.७ र माओवादी केन्द्रले ११.५ प्रतिशत पद जितेका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का १३४, प्रदेश नम्बर ५ का १०९ र प्रदेश नम्बर ७ को ८७ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७२, नेपाली काग्रेस १०३, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका दुईजना उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
झापाको अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ । दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
यसैबिच
धेरैको चाँसोको विषय रहेको सात नम्बर प्रदेशको एक मात्रै धनगढी उप–महानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेस विजयी भएको छ । आज विहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी भएका हुन् । उनले १४,३२४ मत हासिल गरे । भने, उनका प्रतिस्प्रर्धी हमालले ११,५२७ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी भइन् । उनले निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४,६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न गरिन् । भट्टले १७,४०८ मत पाउँदा उनकी प्रतिस्पर्धी देवकोटाले १२,७६३ मत ल्याईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *