अस्पतालमा जोखिम मोलेर प्रसूति

नवलपरासी, फागुन ८ । दक्ष चिकित्सको अभावमा नवलपरासी बर्दघाट–सुस्ता पश्चिम जिल्लामा अवस्थित एकमात्र सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ ।
विशेषज्ञ चिकित्सक गाइनोकोलोजिष्ट नहुँदा गत असोज मसान्तबाटै अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति (सिएस) सेवा बन्द रहेको छ । दक्ष चिकित्सकै अभावका कारण भिडियो एक्सरेसमेत बन्द भएको छ ।  कूल ५३ स्वास्थ्यकर्मीको दरबन्दी रहेको यस अस्पतालमा हाल करिब २० स्वास्थ्यकर्मी छन् ।
औषधि अभावमा अस्पतालबाट निःशुल्क रुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण पनि रोकिएको छ ।
अस्पतालमा सामान्य शल्यक्रिया र सिएस सेवा हुँदा महिनामा १६० जनाले प्रसूति गराउने गरेका थिए भने अहिले ५०, ६० जनाले सामान्य प्रसूति गराइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालमा अहिले प्रसूति गराउन विपन्न व्यक्तिमात्र आउने गरेका छन् सम्पन्न व्यक्ति भने बुटवल र भैरहंवा जाने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा आन्नतकुमार शर्माले दक्ष जनशक्तिको अभावमा हाल विभिन्न सेवा बन्द भएको बताए । यहाँ आएपछि व्यवस्थापन समितिसँग समन्वय गरी आफूले पनि पर्याप्त जनशक्ति र औषधि उपलब्ध गराउन पहल गरिरहेको उनको भनाइ छ । भिडियो एक्सरे सेवाबाट मात्रै अस्पताललाई प्रत्येक वर्ष करिब रु १३ लाख आम्दानी हुने गरेको थियो ।
चालू आर्थिक वर्षबाट अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आए पनि त्यहाँ सःशुल्क औषधिमात्रै उपलब्ध भएको सेवाग्राहीको गुनासो छ । फार्मेसीमा उपलब्ध हुने औषधि अस्पताल बाहिर एउटै मूल्यमा उपलब्ध भइरहेकाले फार्मेसी सञ्चालन गर्न कुनै अर्थ नभएको स्थानीयवासी बताउँछन् । यो अस्पताल स्तरोन्नतिपछि हाल ५० श्ययाको रहेको छ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *