संसद् अधिवेशन आह्वान, पहिलो बैठक फागुन २१ गते

काठमाडौं, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को पहिलो अधिवेशन आह्वान गर्नुभएको छ ।  मन्त्रिपरिषद्को आइतबारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार अधिवेशन आह्वान गर्नुभएको हो । आह्वानअनुसार पहिलो बैठक फागुन २१ गते अपराह्न ४ बजे बस्नेछ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको झन्डै तीन महिनापछि अधिवेशन आह्वान भएको हो । निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ भएकाले अधिवेशन आह्वान भएको थिएन । नयाँ सरकार गठन भएको पाँच दिनपछि अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मिति २०७४ साल फागुन ७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०७४ साल फागुन २१ गते सोमबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । ”

संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्नेछ । यस्तै संवैधानिक प्रावधानअनुसार पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन आह्वान भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ ।

संविधानको व्यवस्थाअनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिबाट सम्बोधन हुनेछ । धारा ९५ को व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

संसद् अधिवेशन आह्वान नभएका कारण प्रतिनिधिसभा सदस्यको शपथ हुन सकेको थिएन । शपथ नहुँदासम्म राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक हुनेछैन । कानुनी व्यवस्थाअनुसार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका मतदाता सङ्घीय संसद् र प्रदेशसभाका सदस्य रहनेछन् ।

अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिको सम्बोधनसँगै अन्तरिम कार्यविधि पारित हुनेछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सञ्चालनको अन्तरिम कार्यविधि तय गरिसकेको छ । स्थायी नियमावली तयार नहुँदासम्म अन्तरिम कार्यविधिबाटै सदनका कामकारबाही सञ्चालन हुनेछन् । सचिवालयले दुवै सदन सञ्चालनका लागि सभाहल व्यवस्थापन तथा कर्मचारी व्यवस्थापन गरिसकेको छ ।

पहिलो बैठकपछि तत्कालै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन हुने हुँदा बैठक केही दिनका लागि स्थगित हुनेछ । उपराष्ट्रपति निर्वाचनसमेत सम्पन्न भइसकेपछि अर्को बैठक बस्नेछ । फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तय भएको छ ।

संविधानको व्यवस्थाअनुसार अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन भइसक्नु पर्नेछ । सो अवधिभन्दा पहिले निर्वाचन कार्यतालिका तथा निर्वाचनको सूचनाका लागि बैठक बस्नेछ । सभामुख चयनको प्रक्रियासँगै नियमावली मस्यौदा समिति गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *