विभागमा हाजिर लगाउनै गएनन् महानिर्देशक श्रेष्ठ

“
काठमाडौं, फागुन ७ । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. विनोदमान श्रेष्ठ विभागमा हाजिर लगाउन नै गएका छैनन् । गत बुधबार विभागको महानिर्देशकमा नियुक्त गरिएका श्रेष्ठले महानिर्देशक बन्न इन्कार गरेका छन् ।
विभागको महानिर्देशक बन्न डा. राजेन्द्रप्रसाद पन्त र डा. तारानाथ पौडेलबीचको विवाद भएपछि तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले डा. श्रेष्ठलाई गत फागुन २ गते महानिर्देशकमा नियुक्त गरेका थिए । श्रेष्ठले आइतबार विभागको महानिर्देशकको पदवहाली गर्ने कार्यक्रम रहेको थियो ।
आफ्नो इच्छा विपरीत विभागको महानिर्देशक बनाएको भन्दै डा. श्रेष्ठले विभागमा हाजिर गर्न नमानेको स्रोतले बताएको छ ।
तत्कालीन स्वास्थ्य मन्त्री बोहराले ३० पुसमा विभागका निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय तानेर डा. तारानाथ पौडेललाई महानिर्देशक बनाएका थिए । तर, बोहराको सो निर्णय १८ माघमा सर्वोच्च अदालतले उल्ट्याईदिएको थियो । त्यसपछि डा. पन्त पुनः आफू नै महानिर्देशक भएको भन्दै विभाग पुगेका थिए ।
बोहराले जादाजादै स्वास्थ्य सेवा विभाग अन्तर्गतका निकायमा निर्देशक फेरवदल गरेका छन् । मन्त्री बोहराले गत फागुन २ गते मन्त्रीस्तरीय निर्णयबाट गोप्य रुपमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशक फेरबदल गरेका थिए ।
मन्त्री बोहराको यो फेरबेदलसँगै केन्द्रका निर्देशक बद्रीबहादुर कार्कीलाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र बारा सरुवा गरिएको छ । त्यसैगरी, उनको ठाउँमा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका सुनीलराज शर्मालाई ल्याइएको छ । विभागको महानिर्देशकमा १२ औ तहका कर्मचारी रहने प्रावधान छ ।
“








