कहाँ जान्छन् राप्तीका गोही ? वर्षेनी छोडिन्छ, तर संख्या बढ्दैन

“
भरतपुर, फागुन ६ । अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही वर्षनी राप्ती नदीमा छोडिए पनि यसको संख्या बढ्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा केही दिनको फरकमा दुई पटक गरी ४८ वटा घडियाल गोही छोडेको छ । वर्षेनी निकुञ्जले नदीमा गोही छोड्दै आए पनि यसको संख्या बढ्न नसकेको निकुञ्जले जनाएको छ ।
‘दुई पटकमा २४ वटाको दरले ४८ वटा ५ देखि ७ वर्षका घडियाल गोही छोडिएको छ’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख देवकुमार ढकालले भने, ‘यसपटक अलि व्यवस्थित तरिकाले नदीमा गोही छोडिएको छ ।’ उनका अनुसार घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएको घडियाल गोही राप्तीमा छोडिएको हो ।
‘प्रजनन् केन्द्र नजिकै नदीमा चारैतर्फ खडाइको बार लगाएर गोही छोडिएको छ’ प्रमुख ढकालले भने, ‘१०/१५ दिन खडाइको बारभित्र हुर्काएपछि गोहीलाई नदीमा छाडा रुपमा छोडिनेछ ।’ उनले नदीसँग जुध्न सक्नेभएपछि गोहीलाई नदीमा छाडा रुपमा छोडिने बताए । अहिले छोडिएको ४८ वटा गोही भालेपोथी छुट्टिन सक्ने अवस्थाका थिएनन् ।
घडियाल गोही विश्वमै अति–संकटासन्न अवस्थामा रहेको छ । अहिलेसम्म करिब ११ सय प्रजनन् केन्द्रमा हुर्काइएको गोही राप्ती नदीमा छोडिएको निकुञ्जले जनाएको छ । नेपालमा सन् १९८१ बाट नदीमा गोही छोडिन थालिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले छोडेअनुसार नदीमा गोही नरहेको बताए । उनले भने, ‘अति संकटापन्न अवस्थामा पुगेका घडियाल गोहीको संरक्षणमा धेरै चुनौतीहरु देखिएका छन् ।’ पानीको प्रदुषण, आहारको कमी, गोहीलाई सुवाउँदो वातावरण नहुनु, पानीको वहाबसँग गोही अन्यत्र जानुजस्ता कारणले गोहीको संख्या घट्दै गएको देखिएको छ । माछा मार्ने, गिटी ढुंगा बालुवा निकाल्नेलगायतका कारणले पनि गोहीको संख्या घटेको पाइन्छ ।
सहायक संरक्षण अधिकृत अर्यालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती र नारायणी नदीमा
जम्मा १६६ वटा घडियाल गोही रहेका छन् । ‘घडियाल गोही छोडेअनुसार यसको संख्या बढ्नुपर्ने हो, तर संख्या घट्दो छ’ अर्यालले भने, ‘गोहीको संख्या बढाउनलाई फेरि पनि गोही छोडिएको हो ।’ उनले गोहीको संरक्षणको लागि निकुञ्जले नयाँ योजनाहरु ल्याउनेसमेत बताए ।
चितवन राष्ट्रिय निकुञ्जले एकडेढ महिनापछि फेरि पनि राप्तीमा गोही छोड्ने योजना बनाएको छ । ‘माघ फागुन नदीमा गोही छोड्ने सिजन हो, दुई पटक गरी ४८ वटा गोही छोडियो । अब एकडेढ महिनापछि फेरि ५० वटा गोही छोड्ने योजना बनाएका छौँ’ निकुञ्ज प्रमुख ढकालले भने ।
“








