के–के छन् ओली सरकारका प्राथमिकता ?

काठमाण्डौं, फागुन ५ । वामपन्थी गठबन्धनको स्थायी सरकार र त्यो सरकारले लागु गर्ने विकास र समृद्धिको नारासहित एमाले अध्यक्ष ओलीले एमाले–माओवादीको चुनावी कमाण्ड सम्हाले । ओलीको नीति र नेतृत्वलाई विश्वास गरेर जनताले गठबन्धनलाई झण्डै दुई तिहाई बहुमत दियो । अब उनै केपी ओली देशको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीको कुर्चीमा आसीन छन् । अब सबैको ध्यान उनले भन्ने गरेको ‘विकास र समृद्धी’ तर्फ छ ।

कस्तो हुन्छ त ओलीका पालामा विकास र समृद्धी ? के-के छन् त सरकारका प्राथमिकता ? यो सबैको चासोको विषय बनिरहेको छ ।

सरकारको प्राथमिकताका लागि एमाले र माओवादी केन्द्र सम्मिलत कार्यदल गठन गरिएको थियो । सरकारले प्राथमिकता दिनुपर्ने कामबारे सुझाव दिन गठित कार्यदलले योजनाको खाका तयार पारेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठित माओवादी केन्द्रसहितको कार्यदलले सुशासन, विकासलगायतका प्राथमिकतामा राखेको छ । देउवा सरकारले चुनावपछि गरेका विवादास्पद निर्णय खारेज गरी आफ्नो काम थाल्नुपर्ने सुझाव सहित कार्यदलले योजनाको खाका तयार पारेको छ ।

सार्वजनिक खरिद ऐनको प्रक्रिया छोट्याउनु पर्ने, सहकारीको अधिकार बढाउनुपर्ने, सबै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने, तराई मधेसमा विशेष रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने, ठूला योजनालाई प्राथमिकता दिने, वैकल्पिक उर्जा प्रवद्र्धनको कामलाई अघि बढाउने लगायत विषयमा सरकारले प्राथमिकता दिनुपर्ने कार्यदलको सुझाव छ । एमाले र माओवादीको संयुक्त कार्यदलले आज प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

कर्मचारीलाई तलव खुवाउन समेत राष्ट्रको ढुकुटीमा रकम रितिइसकेको समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीलाई आफ्ना नीति कार्यान्वयन गर्न त्यती सहज भने देखिंदैन । त्यसमाथि सात प्रदेश सहितको संघीयता कार्यान्वयन गर्नुपर्दा प्रशासनिक खर्च ह्वात्तै बढ्ने निश्चित छ ।

ओली सरकारले अब अगाडि बढ्नका लागि यस्तो खाका तयार गरेको भए पनि वाम एकता र सरकार पूर्णताको काम भने बाँकी नै छ । यी दुई काम नभएसम्म ओली सरकारले चाँडै यी कामहरुलाई कार्यान्वयनको चरणमा लैजाने सम्भावना भने देखिएको छैन । माओवादी केन्द्रसँग पार्टी एकताको काम सकेर सरकारमा सहभागी बन्ने वातावरण नभएसम्म यो खाका तत्काल कार्यान्वयनमा आउन नसक्ने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =