झोलासँगै एक्सरे मशिनमा महिला छिरेपछि…

“
के तपाईँलाई सुरक्षा जाँचका क्रममा आफ्ना झोला चोरी हुन सक्ने चिन्ता लाग्छ ? यस्तै चिन्ता लागेर एकजना चिनियाँ महिला आफ्ना झोलासँगै एक्सरे मशिनमा छिरिन्। दक्षिणी चीनको डुङ्गुआन रेल्वे स्टेशनका कर्मचारीहरू त्यतिबेला छक्क परे जब उनीहरूले एक्सरे मशिनमा एक यात्रुको छाया तस्वीर देखे।
चिनियाँ नयाँ वर्ष मनाउन सर्वसाधारणहरू घर फर्किने चटारो भएका बेला गत आइतवार यस्तो अनौठो घटना भएको हो। ‘कन्भेयर बेल्ट’ अर्थात् यात्रुको सामान ओसार्ने प्रणाली पार गरेपछि ती महिलाले आफ्ना झोलाहरू हेरिन् र हिँडि हालिन्।
अग्लो हिल भएको जुत्ता लगाएकी ती महिला आफ्ना झोलापछाडि हातगोडा टेकेर एक्सरे मशिनभित्र बसेको छाया तस्वीरमा देखिएको थियो ।आफ्ना झोलाको सुरक्षालाई लिएर ती महिला किन त्यति चिन्तित थिइन् त्यो स्पष्ट त भइसकेको छैन। तर चिनियाँ नयाँ वर्ष मनाउन यात्रा गर्ने क्रममा चिनियाँ नागरिकले ठूलो मात्रामा नगद बोक्ने गरेको बताइन्छ।
फूटेजमा देखिए अनुसार एउटा सानो हातेझोलासहित सुरक्षा जाँच गरिने मशिन पार गरेर अघि बढ्नुअघि ती महिलाले आफ्नो सुट्केस ‘कन्भेयर बेल्ट’मा राखेकी थिइन्।
त्यसपछि उनलाई सबै झोलाहरू एक्सरे मशिनमा राख्नुपर्ने भनिएको थियो। तर उनले आफ्नो हातेझोला त्यसमा राख्न अस्वीकार गरिन् । उनीसँग उपाय थियो आफ्ना सामानसँगै आफू पनि जानु। तर, उनी ‘कन्भेयर बेल्ट’मा बसिन्। विना कुनै चोटपटक उनी बाहिर पनि निस्किन्। त्यो देखेर आश्चर्य मान्दै एकजना सुरक्षाकर्मी हाँसिरहेको भिडिओ फूटेजमा देखिन्छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसपछि रेल्वे सेवाका कर्मचारीले विकिरणले स्वास्थ्यमा हानि पुर्याउन सक्ने भएकोले एक्सरे मशिनमा नछिर्न यात्रुहरूलाई आग्रह गरेका थिए।
ती महिला चिनियाँ नयाँ वर्ष मनाउनका लागि रेलबाट यात्रा गरिरहेका अनुमानित ३९ करोड मानिसमध्ये एक हुन्। चिनियाँहरूले शुक्रवार नयाँ वर्ष मनाउन लागेका छन्।
“








